काठमाडौं । श्रम बजारमा आवश्यक सीप र रोजगारीको अवसर बीचको दूरी घटाउने उद्देश्यले सरकारले कोशी प्रदेशको इटहरीमा ‘सीप तथा रोजगार मेला–२०८३’ आयोजना गर्ने भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा असोज १४ देखि २० गतेसम्म सञ्चालन हुने मेलाको मुख्य उद्देश्य रोजगारी खोजिरहेका युवालाई रोजगारदातासँग प्रत्यक्ष जोड्नुका साथै बजारको मागअनुसार सीप विकासका अवसर उपलब्ध गराउनु हो।
‘सीप र रोजगारी , साझा जिम्मेवारी’ नारा सहित आयोजना हुने मेला इटहरी स्थित सोल्टी वेस्टेन्डको प्राङ्गणमा सञ्चालन हुनेछ। मन्त्रालयले मेलालाई केवल रोजगारीका रिक्त पदबारे जानकारी दिने कार्यक्रमका रूपमा नभई ‘माग–सीप तालिम–रोजगार’लाई एउटै प्रणालीमा आबद्ध गर्ने प्रयासका रूपमा अघि सारेको छ।
मेलामा उद्योग, सेवा, कृषि र निर्माण लगायत १० वटा क्षेत्रका ६५ स्टल रहनेछन्। सुनसरी–मोरङ औद्योगिक करिडोरमा रहेका उद्योग तथा व्यवसायसँगै कोशी प्रदेशका स्थानीय तह, निजी क्षेत्र, शैक्षिक तथा प्राविधिक संस्थाको सहभागिता रहने मन्त्रालयले जनाएको छ।
रोजगारी खोज्नेलाई रोजगारदातासँग प्रत्यक्ष सम्पर्क
मेलाको महत्वपूर्ण पक्ष रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्नु रहेको मन्त्रालयले जनाएको छ। त्यसका लागि मन्त्रालयले तयार पारेको jobfair.shramsansar.gov.np पोर्टल मार्फत रोजगारदाता र रोजगारी खोज्नेबीच ‘जब म्याचिङ’ गरिनेछ। पोर्टलमा रोजगारी खोज्नेले आफ्नो प्रोफाइल बनाएर सीभी तयार गर्न, उपलब्ध पद हेर्न र आवेदन दिन सक्ने व्यवस्था छ।
रोजगारदाताले कम्पनी दर्ता गरी रिक्त पद प्रकाशन गर्न तथा उम्मेदवार व्यवस्थापन गर्न सक्नेछन्। पोर्टलमा जिल्ला, क्षेत्र तथा रोजगारीको प्रकारअनुसार रिक्त पद खोज्न सकिने व्यवस्था गरिएको छ। यसले मेलालाई एक दिनको भेटघाटभन्दा बाहिर लैजाने र रोजगारदाता तथा श्रम खोजकर्ताबीच डिजिटल माध्यमबाट समेत सम्पर्क कायम गर्ने लक्ष्य देखिन्छ।
मन्त्रालयका अनुसार कोशी प्रदेशका १३७ स्थानीय तहको सहभागितामा रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिबीच अधिकतम ‘जब म्याचिङ’ गर्ने तयारी गरिएको छ। सुनसरी–मोरङ औद्योगिक करिडोरमा रहेका विराटनगर, धरान, इटहरी, इनरुवा, सुन्दरहरैंचा, दुहबी, कटहरीलगायत स्थानीय तह पनि मेलामा जोडिनेछन्।
बजारमा माग भएका सीप सिकाउने तयारी
मेलामा रोजगारीका अवसरसँगै श्रम बजारमा माग रहेका सीपबारे जानकारी र तालिमको अवसर उपलब्ध गराउने तयारी छ। उपलब्ध विवरणअनुसार एआई, विद्युतीय सवारीसाधन तथा एसी मर्मतजस्ता क्षेत्रमा छोटो अवधिका सीपमूलक तालिम र करिअर काउन्सेलिङ सञ्चालन गरिनेछ।
त्यस्तै डिजिटल तथा व्यावसायिक क्षेत्र, उद्यमशीलता, आधारभूत लेखा, डिजिटल मार्केटिङ, हस्पिटालिटी तथा सेवाक्षेत्रका ग्राहक सेवा, बारिस्टा, कुक, वेटर र सञ्चारकलासम्बन्धी सीपबारे समेत जानकारी तथा प्रशिक्षणका अवसर रहने जनाइएको छ। प्राविधिक तथा घरेलु सीपतर्फ विद्युतीय सवारीसाधन मर्मत, एसी मर्मत, मेकअप तथा नेल आर्ट र अचार बनाउनेलगायतका क्षेत्र समेटिनेछन्।
युवाका लागि मेला कति उपयोगी ?
नेपालमा रोजगारी खोज्ने युवा ठूलो संख्यामा रहे पनि रोजगारदाता र आवश्यक सीप भएका जनशक्तिबीचको मेल नहुनु श्रम बजारको एउटा चुनौतीका रूपमा रहँदै आएको छ। सरकारले आयोजना गर्न लागेको मेलाको औचित्य पनि यही दूरी घटाउने प्रयाससँग जोडिएको छ।
तर मेलामा युवाको सहभागिता गराउनु मात्र पर्याप्त हुने छैन। मेलामा आएका युवाले वास्तविक रोजगारी पाए कि पाएनन्, रोजगारदाताले आवश्यक जनशक्ति पाए कि पाएनन् र तालिम लिएका युवामध्ये कति रोजगारीमा जोडिए भन्ने तथ्यांकले मात्र कार्यक्रमको प्रभावकारिता मापन गर्नेछ।
यसकारण मेला सकिएपछि ‘कति युवा सहभागी भए’ भन्ने तथ्यांकसँगै कति जनाले रोजगारीका लागि आवेदन दिए, कति जना छनोट भए, कति जनाले तालिम पाए र तालिमपछि कति रोजगारीमा जोडिए भन्ने विवरण सार्वजनिक गर्नु सरकारका लागि महत्वपूर्ण हुनेछ।
मन्त्रालयले भने मेलालाई उत्पादनशील रोजगारी सिर्जना, सीप विकास र श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्ने माध्यमका रूपमा अघि सारेको छ। तीनै तहका सरकार, निजी क्षेत्र र विकास साझेदारको सहकार्यमा सञ्चालन हुने मेलामा उद्योगी–व्यवसायी, रोजगारदाता, श्रमिक, युवा, शैक्षिक तथा प्राविधिक संस्थालाई सहभागी हुन मन्त्रालयले आग्रह गरेको छ।
सरकारले आर्थिक वर्ष २०८३/८४ देखि २०९२/९३ सम्मको अवधिलाई ‘रोजगार दशक’का रूपमा अघि बढाउने सन्दर्भमा मेलालाई त्यसै अभियानसँग जोडेको छ।
इटहरीमा आयोजना हुने सातदिने मेलाले स्थानीय श्रम बजारको माग र युवाको सीपबीच सम्बन्ध स्थापित गर्न सकेमा त्यसको प्रभाव रोजगारीका अवसरमा बदल्ने सरकारको लक्ष्य र उदेश्य रहेको देखिन्छ ।




























