काठमाडौं । नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय दोलखाका दुई महिला नेतृ बिमला मोक्तान (योन्जन) र पासदिकी तामाङ १५औँ महाधिवेशनका लागि सर्वसम्मत महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।
शैलुङ गाउँपालिकाकी बिमला मोक्तान (योन्जन) स्वर्गीय नारायण योन्जनकी श्रीमती हुन्। उनी लामो समयदेखि नेपाली कांग्रेसको विभिन्न तह र भूमिकामा रहेर संगठन निर्माण तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएकी छन्।
कांग्रेस दोलखाको १५औँ जिल्ला अधिवेशनबाट उनी आदिवासी जनजाति महिला क्लस्टरबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएकी हुन्।
त्यस्तै, गौरीशंकर गाउँपालिकाकी पासदिकी तामाङ स्वर्गीय कांग्रेस नेता श्यामसुन्दर तामाङकी श्रीमती हुन्। स्वर्गीय श्यामसुन्दर तामाङ पटक–पटक महाधिवेशन प्रतिनिधि हुँदै गौरीशंकर गाउँपालिकाको उपाध्यक्षसमेत भएका थिए।
उनको निधनपछि पासदिकीले पनि नेपाली कांग्रेस दोलखाको राजनीतिमा सक्रियता निरन्तरता दिँदै आएकी छन्। उनी जिल्लाको महिला राजनीतिमा सक्रिय नेतृका रूपमा परिचित छिन्। २०८२ सालमा सम्पन्न गौरीशंकर गाउँपालिकाको उपनिर्वाचनमा समेत उनी उम्मेदवार बनेकी थिइन्।
कांग्रेस दोलखाको १५औँ जिल्ला अधिवेशनबाट पासदिकी पनि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएकी छन्।
श्रीमान्को निधनपछि राजनीतिक यात्रालाई निरन्तरता दिँदै संगठनमा सक्रिय रहेका बिमला र पासदिकीको महाधिवेशन प्रतिनिधिका रूपमा भएको सर्वसम्मत चयनलाई दोलखाको कांग्रेस राजनीतिमा महिलाको निरन्तर सहभागिताको एउटा उदाहरणका रूपमा लिन सकिन्छ।




























