काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले म्याग्दी, बागलुङ र पर्वतलगायत जिल्लाका बाढीपहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन एक करोड रुपैयाँसम्म सहयोग गर्ने प्रस्ताव गरेको छ। संघले आफ्नोतर्फबाट ५० लाख राहत उपलब्ध गराउने र सम्बन्धित प्रवासी नेपाली संस्थासँग सहकार्य गरी थप ५० लाख रुपैयाँ जुटाउने प्रस्ताव अघि सारेको हो।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत तथा मानवीय सहायता अभियान सञ्चालन गरिरहेको एनआरएनए ३३औँ दिनमा पुग्दा देशका विभिन्न जिल्लामा पुनः आएको विपद्बाट प्रभावितको राहत तथा पुनर्निर्माणमा समेत सक्रिय हुन लागेको हो।
असोज ९ गतेदेखि चट्याङ, बाढी, पहिरो, हावाहुरी र अविरल वर्षाका कारण म्याग्दी, बागलुङ, पर्वत, मुस्ताङ, मनाङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि एनआरएनएले तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्निर्माणमा सहकार्य गर्ने निर्णय गरेको हो।
एनआरएनए अध्यक्ष डा. हेमराज शर्माको अध्यक्षतामा भएको भर्चुअल बैठकमा वर्तमान तथा पूर्वसांसद, जनप्रतिनिधि, जिल्ला प्रशासन, स्थानीय तह र प्रवासी नेपाली संस्थाका प्रतिनिधिबीच प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका विषयमा छलफल भएको थियो।
बैठकमा बागलुङ क्षेत्र नम्बर १ का सांसद सोम शर्मा, सांसद सुशील खड्का, सांसद बलावती शर्मा, सूर्य पाठक, म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरे, बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, उपप्रमुख राजु खड्कालगायत सहभागी थिए।
त्यस्तै जिल्ला समन्वय समिति म्याग्दीकी कार्यवाहक प्रमुख दिलकुमारी खत्री, निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती, फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य तथा ग्लोबल पर्वत समाज, म्याग्दी प्रवासी नेपाली संघ (मोना) र अन्तर्राष्ट्रिय बागलुङ समाजका प्रतिनिधिसमेत बैठकमा सहभागी थिए।
बैठकले तत्काल आवश्यक परे एनआरएनएको तर्फबाट ५० लाख रुपैयाँसम्म राहत सहयोग उपलब्ध गराउने प्रस्ताव गरेको छ। अन्तर्राष्ट्रिय पर्वत समाज, अन्तर्राष्ट्रिय बागलुङ समाज, मोना म्याग्दीलगायत प्रवासी संस्थासँग सहकार्य गरी थप ५० लाख रुपैयाँ जुटाएर एक करोड रुपैयाँसम्म राहत परिचालन गर्ने प्रस्ताव गरिएको हो।
स्थानीय आवश्यकता तथा प्रशासन र जनप्रतिनिधिबाट प्राप्त विवरणका आधारमा आवश्यक राहत सामग्री खरिद तथा वितरण वा आर्थिक सहयोग उपलब्ध गराइनेछ। राहत सहयोग परिचालनका लागि स्थानीय प्रशासन तथा जनप्रतिनिधिसँग समन्वय गर्न एनआरएनएका सीईओ राजेन्द्र कुमार राउतलाई जिम्मेवारी दिने प्रस्ताव गरिएको छ।
एनआरएनएले राहतसँगै प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि समन्वय संयन्त्र गठन गर्ने भएको छ। प्रभावित जिल्लाका स्थानीय तहका प्रमुख, सम्बन्धित प्रवासी नेपाली संघसंस्थाका प्रतिनिधि र एनआरएनएका प्रतिनिधि सम्मिलित संयन्त्रमार्फत पुनर्निर्माणका कार्यक्रम अघि बढाइने भएको छ ।
एनआरएनएका प्रवक्ता सोम सापकोटालाई बागलुङ, पर्वत र म्याग्दीबाट विदेशमा रहेका नेपाली तथा सम्भावित सहयोगकर्ताको विवरण संकलन गरी सहयोग जुटाउने कार्यमा सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ।
स्थानीय तहबाट विद्यालय, स्वास्थ्य चौकी, सडक, पुल तथा अन्य संरचनामा भएको क्षतिको विवरण संकलन गरी प्राथमिकताका आधारमा पुनर्निर्माणका कार्यक्रम बनाइने संघले जनाएको छ। सम्बन्धित जिल्लाबाट प्रतिनिधित्व गर्ने एनआरएनएका पूर्वअध्यक्ष, पदाधिकारी, पूर्वपदाधिकारी तथा अभियन्तालाई आवश्यक सहयोगका लागि समेत अपिल गरिएको छ।
संघले पछिल्लो विपद्मा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै सरकार, स्थानीय तह र प्रवासी नेपाली समुदायबीच समन्वय गरी प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका काम अघि बढाउने जनाएको छ।




























