काठमाडौं । सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ वा नियन्त्रणमा नलिएको स्पष्ट पारेको छ। अपरिचित समूहबाट फोन तथा टेक्स्टमार्फत धम्की आएपछि सुरक्षाका लागि उनलाई सुरक्षित स्थानमा लगिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री पोखरेलले जबराको परिवारबाटै सुरक्षाको माग गर्दै प्रहरीमा निवेदन परेपछि प्रहरीले उनलाई सुरक्षित स्थानमा लगेको जानकारी दिए।
‘उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन। उहाँको आफ्नै परिवारबाट नै सुरक्षाको माग गरेर निवेदन प्रहरी कार्यालयमा पठाइएको हो,’ मन्त्री पोखरेलले भने, ‘सुरक्षामा प्रश्न आएपछि उहाँलाई सुरक्षा प्रदान गर्न रेस्क्यु गरेर सुरक्षित स्थानमा लगिएको हो।’
उनका अनुसार जबरालाई सुरुमा नै धम्की आएको थियो। धम्कीपछि सुरक्षित स्थानमा लगिए पनि परिवारबाट पुनः सुरक्षा जोखिम रहेको जानकारी प्रहरीलाई आएको उनले बताए।
मन्त्री पोखरेलले जबरालाई ‘जेनजी’ समूहबाट धम्की आएको भन्ने विषय अस्वीकार गरेका छन्। उनका अनुसार अपरिचित समूहले फोन तथा टेक्स्टमार्फत धम्की दिएको र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
‘जेनजीबाट त्यस्तो थ्रेट आएको होइन। एउटा अपरिचित समूहमार्फत फोनमा टेक्स्टमार्फत नै थ्रेट आएपछि सुरक्षित स्थानमा लगिएको हो,’ उनले भने, ‘यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।’
एन्फा प्रकरणमा अनुसन्धान जारी
मन्त्री पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग सम्बन्धित विषयमा लामो समयदेखि विभिन्न प्रश्न उठ्दै आएको भन्दै अहिले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए।
उनले एन्फासम्बन्धी अनुसन्धान प्राकृतिक प्रक्रियाअनुसार अघि बढ्ने बताए। फिफाको निलम्बन तत्काल नखुले घरेलु फुटबल लिग सञ्चालनमा जोड दिने सरकारको तयारी रहेको उनको भनाइ छ।
सरकारले घरेलु लिगसँगै निजी क्षेत्रबाट सञ्चालन हुने फ्रेन्चाइज प्रतियोगितालाई समेत सकारात्मक रूपमा लिएको मन्त्री पोखरेलले बताए।
‘सरकारले कसैलाई निगरानी गरेको छैन’
यसैबीच सरकारले व्यक्तिविशेषलाई निगरानीमा राखेको भन्ने दाबी पनि मन्त्री पोखरेलले अस्वीकार गरेका छन्। सरकारले त्यस्तो कुनै व्यवस्था नगरेको उनको भनाइ छ।
सचिवालय तथा सल्लाहकार नियुक्तिका विषयमा पनि कानुनी प्रावधानभन्दा बाहिर गएर ठूलो टोली नराखिएको उनले दाबी गरे।




























