काठमाडौं । पत्रकार तथा सामाजिक अभियन्ता गोकर्णप्रसाद भण्डारीले आगामी दिनमा आफू सक्रिय दलगत राजनीतिमा नरहने घोषणा गरेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाबाट गगन थापा पक्षधर भएर खस आर्यतर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका भण्डारीले अधिवेशन सम्पन्न भएपछि सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेका हुन्।
अधिवेशनका क्रममा केही नेताहरूले विभिन्न व्यक्तिको नाम जबर्जस्ती अघि सार्दै अधिवेशन सम्पन्न गरेको भन्दै असन्तुष्टि जनाएका भण्डारीले सामाजिक सञ्जालमार्फत भावुक धारणा सार्वजनिक गर्दै अब आफ्नो सम्पूर्ण ध्यान पत्रकारिता र सामाजिक अभियानमा केन्द्रित गर्ने बताएका छन्।
लामो समयदेखि पत्रकारिता, सामाजिक अभियान तथा विभिन्न सामाजिक संस्थामार्फत सार्वजनिक सरोकारका विषयमा सक्रिय भण्डारीले पत्रकारितालाई नै आफ्नो मुख्य कर्मका रूपमा अघि बढाउने बताएका छन्।
विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय भण्डारीले नेपाल विद्यार्थी संघ हुँदै नेपाली कांग्रेसका विभिन्न भ्रातृ तथा शुभेच्छुक संगठनमा जिम्मेवारी सम्हालिसकेका छन्। उनी नेविसंघ लापिलाङ माध्यमिक विद्यालय इकाइ अध्यक्ष, गौरीशंकर बहुमुखी क्याम्पस इकाइ अध्यक्ष, ट्रेड युनियन कांग्रेस दोलखाका सचिव तथा प्रेस युनियन दोलखाका कार्यवाहक अध्यक्षसमेत भइसकेका छन्।
पत्रकारितामा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका भण्डारीले विकास, सामाजिक सरोकार तथा सार्वजनिक चासोका विषयमा निरन्तर कलम चलाउँदै आएका छन्।
दुर्गम क्षेत्रका विद्यार्थी तथा विपन्न परिवारका लागि सहयोग जुटाउने विभिन्न सामाजिक अभियानमा समेत उनको सक्रियता रहँदै आएको छ।
भण्डारीले भनेका छन्, “राजनीतिक आस्था र सामाजिक सम्बन्ध आफ्नो ठाउँमा छन्, तर अब मेरो प्राथमिकता पत्रकारिता र सामाजिक अभियानमै रहनेछ।”
सक्रिय दलगत राजनीतिबाट अलग रहे पनि लोकतन्त्र, सामाजिक न्याय, विकास र सार्वजनिक सरोकारका विषयमा आफ्नो कलम तथा सामाजिक अभियानमार्फत निरन्तर योगदान गरिरहने उनको भनाइ छ।




























