काठमाडौं । नेपाली कांग्रेस दोलखाको १५औँ जिल्ला अधिवेशनअन्तर्गत जिल्लाका अधिकांश तह र पदमा नेतृत्व सर्वसम्मत चयन भइरहेका बेला कालिन्चोक गाउँपालिकाका सभापति झलक बस्नेत भने मतदान प्रक्रियाबाट निर्वाचित भएका छन्।
बस्नेत कालिन्चोक गाउँपालिकाको सभापतिमा निर्वाचनमार्फत निर्वाचित हुँदै दोलखा कांग्रेसका सबै तह र पदमा मतदानबाट निर्वाचित हुने एकमात्र पदेन केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेका छन्।
जिल्लाका वडा, गाउँपालिका तथा नगरपालिका तहमा नेतृत्व चयनमा सर्वसम्मत प्रक्रियालाई प्राथमिकता दिइरहँदा कालिन्चोकमा भने सभापति पदका लागि निर्वाचन भएको थियो। उक्त निर्वाचनमा बस्नेत उच्च मतान्तरसहित सभापतिमा निर्वाचित भएका हुन्।
नेतृत्वले मैदान छाडेको अवस्थामा पनि कार्यकर्तालाई सम्हाल्दै संगठन निर्माणलाई निरन्तरता दिनुपर्छ भन्ने अठोटका साथ आफू निर्वाचनमा होमिएको बस्नेत बताउँछन्।
लोकतान्त्रिक मूल्य–मान्यतालाई आत्मसात् गर्दै कार्यकर्ताको मत र जनमतको कदर गर्न निर्वाचनको मैदानमा उत्रिएको उनको भनाइ छ।
बस्नेतको निर्वाचनलाई कांग्रेस दोलखाभित्रको लोकतान्त्रिक अभ्यास र कार्यकर्ताको प्रत्यक्ष मतबाट नेतृत्व चयन भएको उदाहरणका रूपमा लिन सकिन्छ।
अब उनले आफूलाई मतदान गर्ने मात्र नभई सम्पूर्ण कार्यकर्तालाई समेटेर कालिन्चोकमा पार्टी संगठनलाई थप सुदृढ बनाउने जिम्मेवारी पाएका छन्।




























