काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित बागलुङका परिवारलाई तत्काल राहत उपलब्ध गराउन गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटा राहत सामग्रीसहित पश्चिम बागलुङतर्फ प्रस्थान गरेका छन् ।
बुटवलबाट बागलुङतर्फ प्रस्थान गरेको टोली हाल रिडी पुगेको छ । टोलीले बागलुङको निशीखोला, तमानखोला लगायतका क्षेत्रमा बाढीपहिरोबाट प्रभावित एक सयभन्दा बढी परिवारलाई राहत सामग्री वितरण गर्ने जनाएको छ ।
प्रभावित परिवारका लागि कम्बल, खाद्यान्न, सरसफाइ सामग्री तथा त्रिपाललगायतका आवश्यक सामग्री लिएर टोली प्रभावित क्षेत्रमा जादैछौं सापकोटाले बताए । तत्काल आवश्यक सामग्री उपलब्ध गराउने र प्रभावित परिवारको अवस्थाबारे स्थलगत जानकारी लिनुका साथै राहत सामग्री वितरण गर्ने उनको भनाइ छ ।
असोज ९ गतेदेखि चट्याङ, बाढी, पहिरो, हावाहुरी तथा अविरल वर्षाका कारण म्याग्दी, बागलुङ, पर्वत, मुस्ताङ, मनाङलगायत जिल्लामा जनधनको क्षति भएपछि एनआरएनएले तत्काल राहतसँगै दीर्घकालीन पुनर्निर्माणमा समेत सहकार्य गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार बागलुङ, पर्वत र म्याग्दीका प्रभावित क्षेत्रमा राहत तथा सहयोग परिचालन गर्न एनआरएनएले स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, सांसद, नेपाल रेडक्रस सोसाइटी तथा स्थानीय प्रतिनिधिहरूसँग राहत वितरण र प्रभावित परिवारको आवश्यकताबारे समन्वय भइरहेको सापकोटाले बताए ।
एनआरएनएले बाढीपहिरो प्रभावित म्याग्दी, बागलुङ र पर्वतलगायत जिल्लामा तत्काल राहत उपलब्ध गराउन एक करोड रुपैयाँसम्म सहयोग गर्ने प्रस्ताव यसअघि नै अघि सारेको थियो । राहतसँगै प्रभावित क्षेत्रको दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणमा पनि सहकार्य गर्ने संघको योजना छ ।
बागलुङ, पर्वत र म्याग्दीबाट विदेशमा रहेका नेपाली तथा सम्भावित सहयोगकर्ताको विवरण संकलन गरी थप सहयोग जुटाउने जिम्मेवारीसमेत सापकोटालाई दिइएको छ । त्यसअनुसार विदेशमा रहेका नेपाली तथा सहयोगकर्तासँग समन्वय गरी प्रभावित परिवारका लागि आवश्यक स्रोत जुटाउने काम भइरहेको संघले जनाएको छ ।
राहत वितरणसँगै प्रभावित क्षेत्रको वास्तविक क्षतिको अवस्था र तत्काल आवश्यकताको पहिचान गरी आगामी दिनमा पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यक्रम अघि बढाउने एनआरएनएको तयारी छ ।




























