काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका अध्यक्ष तथा कान्तिपुर मेनपावर सर्भिस प्रालिका सञ्चालक धनलाल जैसीलाई सल्लाहकारमा नियुक्त गरेको छ।
यसअघि तीन सल्लाहकार नियुक्त गरिसकेको संघले रिक्त रहेको एक पदमा व्यवसायी जैसीलाई मनोनीत गरेको हो।
जैसीको मनोनयन संघको पछिल्लो निर्वाचनमा गणतान्त्रिक मञ्च र नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनबीच भएको सहमतिको कार्यान्वयन भएको बताइएको छ। दुई संस्थाले संघको गत चुनावमा सहमति गरेर एउटै प्यानल बनाएका थिए।
संघले यसअघि नै प्रमुख सल्लाहकारको रूपमा नुर अपरच्युनिटिज ओभरसिज प्रालिका सञ्चालक तिलकबहादुर रानाभाटलाई नियुक्त गरिसकेको छ। यस्तै, सल्लाहकारमा प्याराडाइज इन्टरनेसनल प्रालिका सञ्चालक नवराज केसी र फ्युचर स्टार म्यानपावर प्रालिका सञ्चालक हरिबहादुर पाण्डे क्षेत्रीलाई पनि मनोनयन गरिसकेको छ। संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारी भने पदेन सल्लाहकार रहने कानुनी प्रावधान छ ।



























