काठमाडौं । आज देशभर महाअष्टमी पर्व श्रद्धा, भक्ति र परम्परागत विधिपूर्वक मनाइँदैछ । आश्विन शुक्ल अष्टमीका दिनपर्ने महाअष्टमी बडादशैंको आठौं दिनको रूपमा मनाइन्छ, जसमा दुर्गा भवानीका विभिन्न रूपहरूको विशेष पूजाआराधना गरिन्छ ।
महाअष्टमीको दिनलाई दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिनका रूपमा लिइन्छ । वैदिक सनातन परम्पराका ग्रन्थहरू जसमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र उल्लेखनीय छन् ।
आजको दिन दशैं घर, कोतलगायत राज्यका प्रमुख शक्तिपीठहरूमा शास्त्रीय विधिअनुसार पशु बलि दिई दुर्गा भवानीको पूजा आराधना गरिँदैछ ।
वेद गुरु रविन्द्र आचार्यका अनुसार, ‘महाअष्टमी भनेको भगवती पराशक्तिको प्रादुर्भाव भएको दिन हो । असत्य र अधर्ममाथि सत्य र धर्मको विजयको प्रतिकका रूपमा यो दिनलाई लिइन्छ ।’
उनले थपे, ‘आजैको दिन भगवती माताले दुष्ट र दैत्यहरूको विनाशका लागि शक्ति प्रकट गर्नुभएको दिन हो, त्यसैले आज कालरात्रि देवीको आराधना र महागौरी देवीको विशेष उपासना गरिन्छ ।’
वेद गुरु आचार्यले नेपाल न्यूज बैंकसँगको कुराकानीमा भने, ‘आजको दिनलाई महाअष्टमी भनिन्छ, जुन शुभारम्भ भएको दिनबाट आठौं दिनमा पर्छ । अष्टमी तिथि प्रत्येक पक्षमा आउँछ, तर आजको अष्टमी विशेष हो । किनभने आजैको दिन पराशक्ति जगदम्बिका माताको प्रकट भएको विश्वास गरिन्छ ।’
यस दिन विशेष रूपमा भगवती कालरात्रिको पूजा गरिन्छ भने महागौरी देवीको उपासना गरी श्रद्धालुहरूले अष्टमी पर्व मनाउने चलन छ । दुर्गा पूजाको आठौं दिन पर्ने महाअष्टमीमा शक्ति रूपी देवीको आराधना गरिँदै, भक्तजनहरू विभिन्न शक्तिपीठ, मन्दिर र धार्मिक स्थलहरूमा पूजापाठ, हवन तथा बलि दिने परम्परा पालना गर्छन् । वेद गुरुका अनुसार, महाअष्टमीको आध्यात्मिक सन्देश भनेको ‘असत्य, अन्याय र अधर्ममाथि सत्य, न्याय र धर्मको विजय हो ।’
यसगैरी महाअष्टमीका दिन बलि दिने चलन छ । वेद गुरु आचार्यले बलि प्रथाको जड हाम्रो वैदिक, धर्मशास्त्रीय र पुराणिक ग्रन्थहरुमै आधारित रहेको बताए । उनले भने, ‘बलि भनेको केवल पशु बलि मात्र होइन, आत्मिक बलिदान पनि हो । वेदमा पनि उल्लेख गरिए अनुसार काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य जस्ता दुर्गुणहरूको बलिदान गर्नु नै वास्तवमा भगवतीप्रतिको समर्पण हो ।’
गुरु आचार्यले थप स्पष्ट पारे, ‘शास्त्रमा उल्लेख भएअनुसार बलि प्रथा केवल परम्परागत अभ्यास मात्र होइन, भगवतीको प्रसन्नताको निम्ति गरिएको कर्मपद्धति पनि हो । देवीभागवत, दुर्गासप्तशती लगायतका ग्रन्थहरूमा यसको उल्लेख भेटिन्छ ।’
उनका अनुसार, महाअष्टमीका दिन देवी महागौरीको विशेष पूजन गरिन्छ । ‘कतिपय स्थानमा नवदुर्गाको स्थापना अष्टमीकै दिन गरिन्छ,’ उनले भने, ‘गृहस्थ परम्परा अनुसार केराको पातमा नवथुप्रा स्थापना गरिन्छ, जसमा जनै, सुपारी, ताम्र, रजत वा स्वर्ण मुद्रा राखी जयन्ती र मंगला देवीको पूजा गरिन्छ ।’
गुरु आचार्यले फूलपातीसँग जोडिएको पूजाको विशेषता पनि उल्लेख गरे । ‘अघिल्लो दिन भित्र्याइएको फूलपातीमार्फत देवीलाई नवदुर्गाको स्वरूपमा पूजा गरिन्छ । यस दिन भगवतीले अस्त्र धारण गरेर असत्य र आसुरी शक्तिको विनाश गर्नुभएको दिन हो,’ उनले भने ।
त्यसैले अष्टमीका दिन घरमा भएका अस्त्र–शस्त्र, जस्तै तरवार, ढाल, अंकुश आदिको पनि विशेष पूजन गरिन्छ । ‘भगवतीको रौद्र रूप महाकाली, महागौरी आदि स्वरूपको आराधना यसै दिन गरिन्छ । यही कारणले अष्टमीलाई शक्ति आराधनाको उत्कर्ष दिन मानिन्छ,’ गुरु आचार्यले भने ।



























