काठमाडौं। सरकारले भिजिट भिसामा विदेश जान चाहने नेपाली नागरिकका लागि नयाँ मापदण्ड लागू गरेको छ। अध्यागमन विभागले आज पत्रकार सम्मेलन गर्दै यसअघि लागू रहेका ६ बुँदे मापदण्ड तथा समय–समयमा जारी परिपत्र र प्रक्रिया खारेज गरिएको जानकारी दिएको हो।
विभागका अनुसार २०८० माघ १० गतेदेखि लागू भएको ६ बुँदे व्यवस्था तथा अन्य परिमार्जित प्रावधानले यात्रुहरूलाई सहजीकरण गर्नुभन्दा झनै हैरानी र अनियमितता बढाएको गुनासो आएको थियो। सोही समस्यालाई आत्मसात् गर्दै अध्यागमन कार्यविधि, २०६५ को दफा ३.१ को परिमार्जन गरी गृह मन्त्रालयको १३ कात्तिकको मन्त्रीस्तरीय निर्णय अनुसार नयाँ प्रक्रिया आज देखि लागू गरिएको विभागले जनाएको छ।विभागका अनुसार अब भिजिट भिसामा विदेश जान चाहने नागरिकले आफ्नो यात्रा उद्देश्य स्पष्ट हुने कागजात मात्र पेश गर्नुपर्नेछ। यसले अनावश्यक बिचौलियाको चंगुलमा नपरि यात्रुहरूले स्वतन्त्र र सहज रूपमा यात्रा गर्न सक्ने विभागको दाबी छ।
अध्यागमन विभागले सबै स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयहरूलाई नागरिकलाई सही सूचना दिन विशेष आग्रह गरेको छ। साथै विदेश भ्रमण गर्न चाहने व्यक्तिहरूलाई बिचौलिया, दलाल तथा अनधिकृत व्यक्तिको प्रभावमा नपरी आफैँ आवश्यक जानकारी लिएर मात्र यात्रा योजना बनाउन अनुरोध गरिएको छ।



























