काठमाडौं। विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने विषयमा गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबीच आज छलफल भएको छ। गृह मन्त्रालयमा बसेको उक्त बैठकमा ‘आउट अफ कन्ट्री भोटिङ’ प्रणाली लागू गर्न आवश्यक पूर्वाधार, कानुनी आधार तथा कार्यान्वयन प्रक्रियाबारे प्रारम्भिक विमर्श गरिएको हो।
बैठकमा गृह मन्त्रालयतर्फबाट ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दङ्गाल तथा कानुन महाशाखाका सहसचिव सहभागी थिए भने नीति प्रतिष्ठानतर्फबाट कार्यकारी अध्यक्ष प्राध्यापक डा. लेखनाथ शर्मा, डा. दीपक खड्कासहितको टोली उपस्थित थियो।
छलफलमा विदेशबाट मतदान गर्न सकिने सम्भावनादेखि लिएर मतदाता नामावली दर्ता, मतदान प्रक्रिया, आवश्यक संयन्त्र तथा कानुनी संरचनाबारे विस्तृत चर्चा भएको गृह मन्त्रालयले जनाएको छ।
नीति अध्ययन प्रतिष्ठानले विदेशस्थित नेपालीले गर्ने मतदान प्रक्रियामा सम्भावित विधि, अन्य मुलुकमा लागू भइसकेका मोडेल तथा यस विषयमा भइरहेको अनुसन्धानको कार्यप्रगति प्रस्तुत गरेको थियो।
बैठकमा विदेशमा हुने मतदान प्रणाली लागू गर्दा हुनसक्ने सुरक्षा चुनौती आवश्यक जनशक्ति प्राविधिक संयन्त्र तथा राजनीतिक सहमतिको आवश्यकता प्रमुख विषयका रूपमा उठाइएका थिए।



























