काडमाण्डौं।कतारमा जारी “फिफा यू १७ वर्ड कप २०२५ को अवसरमा आयोजना गरिएको फ्यान जोन सांस्कृतिक कार्यक्रम अन्तर्गत, एनआरएनए एनसिसि कतारको समन्वयमा नेपाल प्रवासी तामाङ समाज कतारका प्रतिभाशाली कलाकारहरूले उत्कृष्ट तामाङ सेलो नृत्य प्रस्तुत गरेका छन्।
बिहीबार साँझ सम्पन्न उक्त प्रस्तुति मार्फत नेपाली समुदायको कला, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले प्रस्तुत गरिएको थियो। रंगीन पहिरन, कोरियोग्राफी र तालमेलपूर्ण प्रस्तुतीकरणले कार्यक्रमस्थलमा उपस्थित नेपाली तथा विभिन्न देशका दर्शकहरूको ध्यानाकर्षण गरेको थियो।
कार्यक्रमका क्रममा एनआरएनए एनसिसि कतारका प्रतिनिधिहरूले कतारमा रहेका नेपाली प्रवासीले कला, संस्कृति र पहिचान जोगाउँदै अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश पुर्याइरहेको उल्लेख गर्दै कलाकार तथा संघ–संस्थालाई धन्यवाद व्यक्त गरे।
नेपाल प्रवासी तामाङ समाज कतारका पदाधिकारीहरूका अनुसार, आगामी दिनहरूमा पनि यस्ता सांस्कृतिक कार्यक्रममार्फत नेपाली समुदायको पहिचान र एकताको भावना अझ मजबुत बनाइने जनाएको छ।



























