दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित नेपाली महावाणिज्यदूतावासले फुजैराहमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गरी घुम्ती कन्सुलर सेवा सञ्चालन गर्ने भएको छ। महावाणिज्यदूतावासका अनुसार आगामी माघ १७ गते शनिबार (३१ जनवरी) फुजैराहमा एकदिने घुम्ती सेवा प्रदान गरिने भएको छ।
घुम्ती सेवाअन्तर्गत राहदानी नवीकरण तथा वितरण, कागजात प्रमाणीकरण, श्रमसम्बन्धी गुनासोलगायतका कन्सुलर सेवा उपलब्ध गराइनेछ। सेवा Indian Social Club Fujairah हलमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।
महावाणिज्यदूतावासले राहदानी नवीकरण तथा सोही स्थानबाट राहदानी संकलन गर्न चाहने सेवाग्राहीलाई पूर्वसूचना दिन आग्रह गरेको छ। त्यसका लागि मोबाइल नम्बर +९७१ ५६६५४०५८३ मा सम्पर्क गरी विवरण टिपाउनुपर्ने जनाइएको छ।
सूचनाअनुसार पुरानो राहदानी भएका व्यक्तिको नवीकरण, हराएको, नासिएको, च्यातिएको वा क्षतिग्रस्त राहदानीको नवीकरण सेवा उपलब्ध हुनेछ। राहदानी नवीकरणका लागि २०० र हराएको नासिएको हकमा ३०० दिरामसम्म राजस्व लाग्नेछ भने राहदानी संकलन तथा श्रमसम्बन्धी गुनासो सेवा निःशुल्क रहनेछ। कन्सुलर तथा भिसासम्बन्धी कागजात प्रमाणीकरण भने नियमानुसार शुल्क लिएर गरिने जनाइएको छ।
फुजैराह र आसपासका क्षेत्रमा रहेका नेपाली नागरिकलाई सेवा लिन सहज होस् भन्ने उद्देश्यले घुम्ती सेवा सञ्चालन गर्न लागिएको महावाणिज्यदूतावासले जनाएको छ।





























