काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ भित्र देखिएको विवाद थप चर्किँदै जाँदा महासचिव महेशकुमार बस्नेत लाई एसोसिएसनबाट निलम्बन सहित निष्कासन गरेको छ ।
अध्यक्ष भुवनसिंह गुरुङले दुई जना सल्लाहकार हटाएको विषयमा बस्नेतले स्पष्टीकरण सोधेपछि सुरु भएको विवाद पार्टी निकट संगठनसम्म पुगेको हो।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन ले २०८३ वैशाख ११ गते बसेको कार्यसमिति बैठकको निर्णयअनुसार बस्नेतलाई साधारण सदस्यतासमेत नरहने गरी निलम्बन तथा निष्कासन गरेको जनाएको छ।
एसोसिएसनका अनुसार यसअघि २४ घण्टाभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिइएको थियो। तर स्पष्टीकरण नआएपछि २०८३ वैशाख ११ गतेको बैठकले संस्थाको विधान २०६३ को दफा ८ / ९ र १४ बमोजिम कारबाही गर्ने निर्णय गरेको हो।
एसोसिएसनले बस्नेतले संस्थाको विधानको परिच्छेद २, दफा ४ विपरीत कार्य गरेको ठहर गरेको छ। आरोपअनुसार उनले संगठनको नीति र सहमति विपरीत गतिविधि गर्दै कार्यसमितिभित्र गुट–उपगुट सिर्जना गर्ने, अध्यक्षलाई असहयोग गर्ने तथा दुईतिहाइ हस्ताक्षर संकलन गरी हटाउने प्रयाससमेत गरेको बताइएको छ।
त्यस्तै, सामाजिक सञ्जाल र विभिन्न समूहहरूमा अध्यक्षसँग सोधिएको स्पष्टीकरण सार्वजनिक रूपमा प्रसारण गरिएको विषयले पनि संगठनभित्र गम्भीर प्रश्न उठाएको एसोसिएसनको भनाइ छ।
एसोसिएसनले व्यवसायीका समस्याको समाधानमा केन्द्रित हुनुपर्ने बेला आन्तरिक राजनीति बढाउने प्रयास भएको निष्कर्ष निकालेको छ। “संस्थाको गरिमा र व्यवसायीहरूको साझा हितमा आँच पुग्ने गतिविधि भएकाले कारबाही गरिएको हो, निर्णयमा उल्लेख छ।
यो घटनाले नेपाली कांग्रेस निकट व्यवसायी संगठनभित्र समेत तरंग ल्याएको छ।



























