काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिने यात्रुमाथि विमानस्थल बाहिर हुने बाग्रेनीङ, भ्रमपूर्ण सूचना र कमिसनका आधारमा गन्तव्य परिवर्तन गराउने गतिविधि बढ्दै गएको भन्दै होटल ब्यवसायीहरुले गम्भीर आपत्ति व्यक्त गरेका छन्। यस्तो प्रवृत्तिले यात्रु र होटल व्यवसायी दुवै मारमा परेको उनीहरूको बुझाई छ।
हवाई यात्रु यातायात सेवा समितिसँग आबद्ध केहि सवारी चालकहरुले यात्रुलाई झुक्याउने, हैरानी दिने तथा गलत सूचना प्रवाह गर्ने गरेको पाइएको छ। उनीहरूले यात्रुलाई आफ्नो रोजाइअनुसारको होटलमा जान नदिई आफूअनुकूल होटलतर्फ लैजाने प्रवृत्ति बढ्दो रहेको र यस सम्बन्धी गुनासाहरू पछिल्लो समय सार्वजनिक हुन थालेका छन्।। पहिले नै बुकिङ गरिसकेका पाहुनालाई समेत उक्त होटल राम्रो छैन भन्दै भ्रम सिर्जना गरी अन्यत्र डाइभर्ट गर्ने प्रवृत्ति बढ्दै गएको व्यवसायीहरू बताउँछन्।
जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले विमानस्थलमै यात्रु तानातान गर्ने र झुक्याउने प्रवृत्ति नियन्त्रण नगरे नेपालको पर्यटन छविमा दीर्घकालीन नकारात्मक असर पर्ने चेतावनी दिएका छन । तोकिएको भाडादरमा यात्रुहरू नलाने प्रतिव्यक्ति असुली , कोचाकोच यात्रु हाल्ने ,लामो समय सम्म यात्रु लाई होल्ड गराउने काम गलत रहेको स्पष्ट पारेका छन्। साथै यात्रुको गन्तव्य परिवर्तन गराउने र कमिसनको पछि लाग्ने प्रवृत्ति समेत देखिएको उनको भनाइ छ। यसले यात्रुहरूलाई अनावश्यक आर्थिक भार पर्ने मात्र नभई समग्र पर्यटन क्षेत्रमै नकारात्मक असर पार्ने उनले बताएका छन्।
एकता होटल तथा गेष्ट हाउस व्यवसायी संघका अध्यक्ष सरोज आलेका अनुसार , तिलगंगा एयरपोर्ट आसपास का क्षेत्रमा बिनादर्ताका अवैध टिकट काउन्टर सञ्चालन गरी यात्रुलाई झुक्याउने कार्यसमेत भइरहेको छ। यस्ता काउन्टरहरूले आफूलाई आधिकारिक देखाउँदै बढी भाडा असुल्ने, एयरपोर्ट को सम्वेदन सिल एरियामै गएर यात्रुलाई गन्तव्यबारे गलत जानकारी दिने र यात्रुलाई जबर्जस्ती सवारीमा राख्ने र डबल भाडा लिने गरेको उनको ठम्याइ छ। यसले विशेषगरी वैदेशिक रोजगारीबाट फर्किएका नेपाली यात्रुहरूलाई बढी प्रभावित पारेको उनी बताउँछन्।
नेपाली होटल व्यवसायी संघ,का अध्यक्ष गणेश ढकालले हवाई यात्रु यातायात सेवा समितिसँग आबद्ध डाईभरहरुले यात्रुलाई लामो समय सम्म रोकेर राख्ने, यात्रुहरु सङ्कलन गर्ने र गोटा गन्ति चर्को भांडा असुल्ने क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्ति बढेको बताएका छन्। उनले यस्ता गतिविधिको अन्त्य गर्न आवश्यक रहेको उल्लेख गर्दै पर्यटक तथा यात्रुमैत्री वातावरण निर्माण अपरिहार्य भएको बताए।
बालाजु होटल व्यवसायी संघका अध्यक्ष सूर्य बहादुर खाती ले एउटै समूह बनेर एयरपोर्ट जाने र सोही समूहले विभिन्न होटलमा बुकिङ भइसकेका पाहुनालाई अन्यत्र डाइभर्ट गर्ने गरेको बताएका छन्।
उनका अनुसार, ती व्यक्तिहरूले पाहुनालाई विभिन्न होटलका कार्ड देखाई प्रलोभनमा पार्ने, कम भाडा तथा सस्तो रुमभाडा र खाना–खाजाको दर देखाएर विश्वास दिलाउने र यात्रुलाई आफ्नो रोजाइको होटलमा जानबाट रोक्ने गरेका छन्। यसरी ललाई–फकाई गरी अन्य होटलमा पुर्याएपछि अत्यधिक चर्को मूल्य असुल्ने गरेको समेत उनले बताएका छन्।
सुन्धारा होटल व्यवसायी संघका अध्यक्ष देवी प्रसाद कडेलले अहिले भएको गतिविधिलाई अराजक र विकृतिपूर्ण भन्दै तत्काल राज्यको ध्यान जान आवश्यक रहेको धारणा राखे।
त्यस्तै, कलंकी होटल तथा गेष्टहाउस संघका अध्यक्ष रमेश बराल ले यात्रुले आफ्नो रोजाइअनुसार होटल र यातायात सेवा प्रयोग गर्न पाउनुपर्नेमा कुनै हस्तक्षेप स्वीकार्य नहुने बताए।
नेपाल गेष्टहाउस व्यवसायी संघ बागबजारका अध्यक्ष खगेश्वर सापकोटाका अनुसार, म कहाँ आउने अधिकांश पाहुनाहरू जापानबाट आउने गरेका छन्। तर पछिल्लो समय केही पाहुनाहरूलाई कमिसनको लोभमा ठमेलतर्फ डाइभर्ट गरेको उनले बताए । यसले पाहुना आफ्नो बुकिङअनुसारको गन्तव्यमा पुग्न नपाउने अवस्था सिर्जना भएको र यो वास्तविकता व्यवसायीका लागि चुनौतीपूर्ण बनेको उनको भनाइ छ।
जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बराल ले यस्तो समस्या समाधानका लागि केही ठोस उपाय अघि बढाउनुपर्ने धारणा व्यक्त गर्दै विमानस्थल परिसर र आसपासका क्षेत्रमा कडाइका साथ अनुगमन बढाउने, अवैध टिकट काउन्टर तत्काल हटाउने, एकीकृत र पारदर्शी भाडादर लागू गर्ने तथा यात्रुको स्वतन्त्र रोजाइ सुनिश्चित गर्नुपर्ने बताएका छन्। साथै, एयरपोर्टदेखि प्रमुख सहरका क्षेत्रसम्म सरकारले पर्यटकमैत्री बस सेवा सञ्चालन गर्न सकेमा ठगी र कमिसन नियन्त्रण हुनुका साथै ग्राहकको रोजाइअनुसार बसाइ र यात्रा तय हुने उनको धारणा छ।
पछिल्लो समय सरोकारवालाले पर्यटन नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यस्ता विकृति नियन्त्रण गर्न ढिलाइ गर्न नहुने बताएका छन्। राज्यले प्रभावकारी नियमन र स्पष्ट नीतिगत हस्तक्षेप नगरे पर्यटन क्षेत्रको विश्वसनीयता कमजोर हुँदै जाने खतरा बढ्ने उनीहरूको भनाइ छ।



























