काठमाडौं — प्रोफेसनल होल्डिङ्स लिमिटेड (साबिक प्रोफेसनल एजुकेटर्स लिमिटेड) को २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। चैत २८ गते बानेश्वरस्थित ग्लोबल कलेजमा सम्पन्न सभाले सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहितका वार्षिक विवरणहरू पारित गरेको छ।
सभाले कम्पनीको लेखापरीक्षणका लागि एनबिएसएम एन्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट फर्मलाई लेखापरीक्षकमा नियुक्त गर्दै पारिश्रमिक निर्धारण गरेको छ।
त्यसैगरी, सेयरधनीहरूका लागि हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत बोनस सेयर वितरण गर्ने तथा सोमा लाग्ने कर प्रयोजनका लागि २.६३१६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। बोनस सेयर जारीपछि कम्पनीको जारी तथा चुक्ता पुँजीमा हुने वृद्धिलाई अनुमोदन गर्दै प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गरिएको छ।
सभाले कम्पनीको जारी पुँजीको निश्चित प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन (आईपीओ) गर्ने र सो सम्बन्धी सम्पूर्ण कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्तावसमेत स्वीकृत गरेको छ।
साथै, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यमा अनुदान प्रदान गर्ने लगायतका सामान्य तथा विशेष प्रस्तावहरू पनि पारित भएका छन्।
यसै अवसरमा कम्पनीको सहायक संस्था युनिग्लोब हायर सेकेन्डरी स्कूल काठमाडौं लिमिटेडले पनि हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर तथा सोमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ।
सभाको अन्त्यमा कम्पनीले सुशासन, पारदर्शिता र दीर्घकालीन व्यवसायिक विकासप्रति प्रतिबद्धता जनाउँदै सेयरधनीहरूप्रति धन्यवाद ज्ञापन गरेको छ। साथै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले कायम गरेको उच्च व्यावसायिक सुशासन, दिगो नेतृत्व र मार्गदर्शनप्रति उच्च प्रशंसा व्यक्त गर्दै प्रोफेसनल होल्डिङ्स लिमिटेड ले हार्दिक आभार प्रकट गरेको छ।



























