बैंकक । थाइल्याण्डस्थित नेपाली राजदूतावासले अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा बैंककमा विशेष कार्यक्रम आयोजना गर्दै हिमालय संरक्षण, जलवायु परिवर्तनका चुनौती र दिगो पर्यटन प्रवर्द्धनका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराएको छ।
बैंककस्थित अमारी होटलमा आयोजित कार्यक्रममा थाइल्याण्ड सरकारका प्रतिनिधि, विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संस्थाका अधिकारी, पर्यटन व्यवसायी, शिक्षाविद्, पर्वतारोही, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वसहित २५० भन्दा बढी अतिथिको सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाल र थाइल्याण्डका राष्ट्रिय गान, दीप प्रज्वलन तथा पर्वतीय अभियानका क्रममा ज्यान गुमाएका साहसी व्यक्तिहरू र जलवायु परिवर्तनजन्य विपद्का पीडितहरूको सम्मानमा मौनधारण गरिएको थियो। त्यसपछि थाइल्याण्डमा बसोबास गर्ने नेपाली अमन शाहीले पर्वतारोहणअघि गरिने पूजामा बजाइने पारम्परिक धुन प्रस्तुत गरेका थिए।
समारोहमा हिमालय क्षेत्रमा जलवायु परिवर्तनका प्रभावसम्बन्धी वृत्तचित्र प्रदर्शन गरिनुका साथै थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वली र परराष्ट्रमन्त्री शिशिर खनालको भिडियो सन्देश प्रस्तुत गरिएको थियो।
उनीहरूले सगरमाथा नेपालको राष्ट्रिय गौरव र मानव साहसको प्रतीक मात्र नभई सम्पूर्ण हिमालय क्षेत्रलाई “एसियाको जलभण्डार” का रूपमा संरक्षण गर्नुपर्ने साझा दायित्व रहेको उल्लेख गरेका थिए। जलवायु परिवर्तनका असर हिमालदेखि महासागरसम्म देखिन थालेको भन्दै त्यसको सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो।
कार्यक्रममा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (आईसीआईएमओडी) का महानिर्देशकको भिडियो सन्देशसमेत प्रस्तुत गरिएको थियो भने एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीका प्राध्यापक तथा आईपीसीसी प्रतिवेदनका प्रमुख लेखक डा. शोभाकर ढकालले हिमालय क्षेत्र, हिमनदी, जलस्रोत तथा जैविक विविधतामाथि जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे प्रस्तुति दिएका थिए।
थाइल्याण्डका पहिलो सगरमाथा आरोही वितिद्नान रोजनापानिच तथा नेपाली पर्वतारोही मिङमार शेर्पाले सगरमाथा आरोहणका अनुभव साझा गर्दै पर्वतीय क्षेत्रमा बढ्दो जलवायु जोखिमबारे धारणा राखेका थिए।
कार्यक्रमको अर्को आकर्षणका रूपमा नेपाल भ्रमण गरेर फर्किएको थाई प्रतिनिधिमण्डलद्वारा तयार पारिएका चित्रकलाको प्रदर्शनी आयोजना गरिएको थियो। प्रदर्शनीमा लुम्बिनी, स्वयम्भूनाथ, काठमाडौं, पाटन र भक्तपुर दरबार क्षेत्रलगायत नेपालका सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई चित्रमार्फत प्रस्तुत गरिएको थियो।
समारोहमा सफल सगरमाथा आरोही वितिद्नान रोजनापानिच, मिङमार शेर्पा र विक्रम कार्कीलाई सम्मान गरिएको थियो। साथै नेपाल भ्रमण प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली व्यवसायीहरूले उपलब्ध गराएका १७ वटा पर्यटन प्याकेज लक्की ड्रमार्फत विदेशी पाहुनालाई वितरण गरिएको थियो।
राजदूतावासले उक्त कार्यक्रमले अन्तर्राष्ट्रिय स्तरमा सगरमाथा दिवसको महत्व स्थापित गर्नुका साथै हिमालय संरक्षण, जलवायु परिवर्तन र दिगो पर्यटनसम्बन्धी नेपालको सन्देश विश्व समुदायसमक्ष पुर्याउन महत्वपूर्ण भूमिका खेलेको जनाएको छ।




























