काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयनका लागि आज हुने निर्वाचनमा डिक बहादुर खत्री (कुमार) नेतृत्वको संयुक्त व्यवसायी प्यानल चुनावी मैदानमा उत्रिएको छ। वैदेशिक रोजगार क्षेत्रको सुधार, व्यवसायीहरूको अधिकार संरक्षण तथा संस्थागत सुदृढीकरणलाई मुख्य एजेन्डा बनाउँदै खत्री नेतृत्वको टोलीले व्यवसायीहरूमाझ मत मागिरहेको छ।
संघका पूर्वप्रथम उपाध्यक्ष समेत रहेका खत्रीले वैदेशिक रोजगार व्यवसायको गरिमा, व्यवसायीहरूको सम्मान र संस्थाको उज्ज्वल भविष्य सुनिश्चित गर्न अनुभवी, इमानदार तथा दूरदर्शी नेतृत्व आवश्यक रहेको बताएका छन्। व्यवसायप्रति फैलाइएका भ्रम चिर्दै व्यवसायीहरूको हकहितको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धतासहित आफू नेतृत्वका लागि अघि बढेको उनको भनाइ छ।
संयुक्त व्यवसायी प्यानलले अध्यक्ष पदमा डिक बहादुर खत्री (कुमार)लाई उम्मेदवार बनाएको छ। प्यानलमा प्रथम उपाध्यक्षमा महेश कुमार बस्नेत, द्वितीय उपाध्यक्षमा अनिल वोगटी र तृतीय उपाध्यक्षमा तुलसी पुरी उम्मेदवार रहेका छन्।
त्यसैगरी महासचिव पदमा हरिबहादुर डाँगी, सचिव पदमा केदारनाथ अधिकारी तथा कोषाध्यक्ष पदमा धनमाया सिजाली उम्मेदवार बनेका छन्। उनीहरूले वैदेशिक रोजगार क्षेत्रका नीतिगत समस्या समाधान, व्यवसायीहरूको अधिकार संरक्षण तथा संघलाई थप प्रभावकारी र उत्तरदायी संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सदस्य पदका लागि रमा खड्का, विवेक ढुगााना, ध्रुव जी.सी., फडिन्द्र कुमार के.सी., तारामणि राई, तारा तामाङ, रविन्द्र राई, भावना गुरुङ, बाबुराम न्यौपाने र युवराज देवकोटा उम्मेदवार रहेका छन्। सदस्य पदका उम्मेदवारहरूले व्यवसायीहरूको साझा मुद्दा उठान, संस्थागत एकता सुदृढीकरण तथा संघलाई व्यवसायीमैत्री बनाउन सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन्।
‘व्यवसायी एकता, अधिकार र सम्मानको अभियान’ नारासहित चुनावी मैदानमा उत्रिएको प्यानलले वैदेशिक रोजगार क्षेत्रलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउन आवश्यक कानुनी तथा नीतिगत सुधारका लागि पहल गर्ने जनाएको छ। साथै व्यवसायी र श्रमिक दुवै पक्षको हितलाई केन्द्रमा राखेर संघको भूमिका थप प्रभावकारी बनाउने प्रतिबद्धता पनि प्यानलले व्यक्त गरेको छ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कार्यसमितिका अध्यक्षसहित ७ पदाधिकारी र १० सदस्य गरी १७ पदका लागि आज निर्वाचन हुँदैछ। निर्वाचनमा सहभागी हुन ८ सयभन्दा बढी व्यवसायीले सदस्यता शुल्क तथा लेबी बुझाइसकेका छन्। व्यवसायीहरूले यस निर्वाचनलाई संघको नेतृत्व चयनसँगै वैदेशिक रोजगार क्षेत्रको भावी दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिरहेका छन्।
खत्री नेतृत्वको संयुक्त प्यानलले सक्षम नेतृत्व, स्पष्ट कार्ययोजना र व्यवसायीहरूको सम्मानलाई केन्द्रमा राख्दै चुनावी प्रतिस्पर्धामा आफूलाई बलियो दाबेदारका रूपमा प्रस्तुत गरेको छ।



























