काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ। संघको विशेष साधारणसभाअन्तर्गत हुने निर्वाचनमा पदाधिकारी तथा सदस्य पदका लागि व्यवसायीबीच प्रतिस्पर्धा तीव्र बनेको छ।
यसै क्रममा व्यवसायी माझ लोकप्रिय मानिने राज काजी भ्लोन लोकतान्त्रिक प्यानलबाट सचिव पदमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
लामो समयदेखि वैदेशिक रोजगार क्षेत्रमा सक्रिय रहँदै आएका भ्लोन व्यवसायीबीच मिलनसार, सहकार्यशील र सहयोगी स्वभावका व्यवसायीका रूपमा परिचित छन्। उनी ‘राज ग्रुप अफ कम्पनी’का अध्यक्षसमेत रहेका छन्। साथै वैदेशिक रोजगार विभागमा संघको तर्फबाट मेलमिलाप तथा समन्वयकर्ताका रूपमा समेत काम गरिसकेको अनुभवले उनलाई संस्थागत नेतृत्वका लागि अनुभवी र सक्षम उम्मेदवारका रूपमा प्रस्तुत गरेको छ।
यसअघि सम्पन्न निर्वाचनमा अत्यधिक बहुमतसहित विजयी भएका भ्लोन हाल संघका निवर्तमान सदस्यसमेत रहेका छन्। संगठनभित्र सक्रिय भूमिका र निरन्तर संलग्नताका कारण उनी व्यवसायीबीच विश्वासिलो नेतृत्वका रूपमा चिनिन्छन्।
लोकतान्त्रिक प्यानलले वैदेशिक रोजगार क्षेत्रलाई पारदर्शी, व्यवस्थित र व्यवसायीमैत्री बनाउने उद्देश्यसहित विभिन्न एजेन्डा अघि सारेको छ। श्रमिक र व्यवसायी दुवै पक्षको हित सुनिश्चित गर्ने स्पष्ट नीतिगत व्यवस्था, सेवा शुल्क निर्धारणमा सरकारसँग समन्वय तथा त्रिपक्षीय सहकार्यलाई संस्थागत गर्ने विषयलाई मुख्य प्राथमिकतामा राखिएको छ।
यसै सन्दर्भमा सचिव पदको भूमिकालाई संघभित्र अत्यन्त महत्वपूर्ण मानिन्छ। सचिवले संगठनात्मक व्यवस्थापन, बैठक तथा निर्णय कार्यान्वयन, आन्तरिक समन्वय, अभिलेख व्यवस्थापन तथा सदस्यबीच सूचना प्रवाहलाई प्रभावकारी बनाउने जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ। संस्थागत पारदर्शिता र नीतिगत कार्यान्वयनमा सचिवको भूमिका निर्णायक हुने गर्छ।
भ्लोनले आफूलाई अनुभवी, जिम्मेवार र संस्थागत सुधारमा केन्द्रित उम्मेदवारका रूपमा प्रस्तुत गर्दै व्यवसायीहरूको समर्थनका लागि अपिल गरेका छन्।
संघको निर्वाचनमार्फत अध्यक्षसहित ७ पदाधिकारी र १० सदस्य गरी १७ पदका लागि नेतृत्व चयन हुनेछ। निर्वाचनमा ८ सयभन्दा बढी व्यवसायी सहभागी भएका छन्। व्यवसायीहरूले यस निर्वाचनलाई वैदेशिक रोजगार क्षेत्रको आगामी दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएका छन्।




























