काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्नो स्थापना दिवसलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउने भएको छ। ३३ वर्ष पूरा गरी ३४औँ वर्षमा प्रवेशको अवसरमा संघले बालबालिकाको शिक्षा, संरक्षण र पुनर्स्थापनामा सहयोग पुग्ने उद्देश्यले सामाजिक सेवा कार्यक्रम आयोजना गर्न लागेको हो।
संघका महासचिव हिराबहादुर डाँगी (हरी)ले जारी गरेको शुभकामना सन्देशअनुसार स्थापना दिवसका अवसरमा आशा फाउन्डेसन अन्तर्गत सञ्चालित आशा विशेष पाठशाला तथा पुनर्स्थापना केन्द्र, सातदोबाटो–ललितपुरमा आश्रित बालबालिका तथा लाभग्राहीलाई खेलकुद सामग्री, वाद्ययन्त्र, स्टेशनरी र खाद्यान्न सहयोग हस्तान्तरण गरिने जनाएको छ ।
संघले सामाजिक उत्तरदायित्वलाई संस्थागत संस्कृतिको अभिन्न अङ्गका रूपमा आत्मसात् गर्दै स्थापना दिवसलाई समाजसँग जोड्ने प्रयासका साथै समाजका सबै वर्गको सहकार्य, सहयोग र अपनत्वबाट मात्रै समावेशी तथा जिम्मेवार समाज निर्माण सम्भव हुने विश्वास संघले गरेको छ।
बालबालिकाको शिक्षा, संरक्षण र पुनर्स्थापनामा निजी क्षेत्रको पनि उत्तिकै जिम्मेवारी रहेको उल्लेख गर्दै संघले यस्ता सेवामूलक अभियानलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा संघसँग आबद्ध सदस्य व्यवसायी, पूर्वपदाधिकारी, संस्थापक, शुभेच्छुक तथा सरोकारवालालाई सहभागी हुन आग्रह गरिएको छ। कार्यक्रम आज बिहान १०:३० बजे ललितपुरको सातदोबाटोस्थित आशा विशेष पाठशाला तथा पुनर्स्थापना केन्द्रमा आयोजना हुने संघले जनाएको छ।



























