काठमाडौं । वैदेशिक रोजगारमा हुने ठगी, बढी शुल्क असुली तथा सम्झौताविपरीतका सेवासम्बन्धी गुनासा अब अनलाइन मार्फतनै दर्ता गर्न सकिने भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रीको उपस्थितिमा मंगलबार वैदेशिक रोजगार विभागले उजुरी तथा मुद्दा व्यवस्थापन प्रणाली’ (ujuri.dofe.gov.np) सञ्चालनमा ल्याएको हो।
विभागले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका व्यक्तिले आवश्यक प्रमाणसहित अनलाइनबाटै उजुरी दर्ता गर्न सक्नेछन्। वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै रकम लिएर नपठाएको, तोकिएकोभन्दा बढी शुल्क असुलेको, राहदानी कब्जामा राखेको, विदेशमा पुगेपछि सम्झौताअनुसारको काम, तलब वा सेवा–सुविधा नपाएको लगायतका विषयमा स्वदेश वा विदेशबाटै पीडित वा उनका परिवारका सदस्यले उजुरी दिन सक्ने व्यवस्था गरिएको छ।
विभागका अनुसार नयाँ प्रणालीले उजुरी र मुद्दा व्यवस्थापनलाई छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउनेछ। उजुरी दर्तापछि सम्बन्धित सेवाग्राहीले इमेल वा एसएमएस मार्फत प्राप्त हुने ट्र्याकिङ कोड प्रयोग गरी आफ्नो मुद्दाको प्रगति अनलाइनबाटै हेर्न सक्नेछन्। साथै सम्पूर्ण कारबाही प्रक्रिया डिजिटल अभिलेखमा राखिने व्यवस्था गरिएको छ।
विभागले प्रणाली पूर्ण रूपमा कार्यान्वयन भएपछि वैदेशिक रोजगार सम्बन्धी उजुरी जिल्ला प्रशासन कार्यालय मार्फत समेत सहज रूपमा अगाडि बढ्ने जनाएको छ। सामान्य प्रकृतिका जिल्लामै मेलमिलापको प्रयास गरिने र मेलमिलाप हुन नसकेका वा गम्भीर प्रकृतिका मुद्दा थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाइने व्यवस्था रहने उल्लेख गरिएको छ। यसबाट पीडितले उजुरीका लागि पटक–पटक काठमाडौं धाउनुपर्ने बाध्यता घट्ने विभागको विश्वास छ।
विभागका अनुसार यो प्रणालीले वैदेशिक रोजगार ठगीका पीडितलाई छिटो न्याय दिलाउन, राहत तथा क्षतिपूर्ति प्रक्रियालाई सहज बनाउन र समग्र वैदेशिक रोजगार क्षेत्रलाई थप उत्तरदायी तथा पारदर्शी बनाउन सहयोग पुग्ने अपेक्षा सरकारले गरेको छ।


























