काठमाडौं । कलङ्की होटल एण्ड गेष्टहाउस एसोसिएसनको नवौँ अधिवेशनबाट कुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका छन्।
एसोसिएसनको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा श्याम चौलागाईं, उपाध्यक्षमा राजु घिमिरे, महासचिवमा अप्सरा थापा, सचिवमा रेशम पुलामी, कोषाध्यक्षमा माधवप्रसाद गौतम र सह–कोषाध्यक्षमा नहकुल भट्टराई निर्वाचित भएका छन्। त्यस्तै सदस्यहरूमा तारा पराजुली, रोजिना खत्री, राजु चौरेल र रविन राई चयन भएका छन्।
उद्घाटन सत्र सम्पन्न भएपछि निवर्तमान पदाधिकारी तथा अधिवेशनका प्रतिनिधिहरू बन्दसत्रमा सहभागी भएका थिए। बन्दसत्रमा विभिन्न पदमा उम्मेदवारी दिएका व्यक्तिविरुद्ध कुनै दाबी–विरोध नपरेपछि सबै पदाधिकारी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका प्रमुख अधिवक्ता कुलबहादुर बोगटीले जानकारी दिए।
निवर्तमान अध्यक्ष रमेश बरालले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै होटल तथा गेष्टहाउस व्यवसायलाई समयानुकूल, स्तरीय र गुणस्तरीय बनाउनेतर्फ नयाँ नेतृत्वले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।
उनले व्यवसायीका समस्या पहिचान गरी समाधानका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्दै व्यवसायमैत्री योजना अघि बढाउनुपर्नेमा जोड दिए।
नवनिर्वाचित अध्यक्ष कुमार श्रेष्ठले होटल व्यवसाय क्षेत्रमा अनगिन्ती समस्या रहेको उल्लेख गर्दै ती समस्याको समाधान तथा सम्बोधनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइने बताए। उनले होटल व्यवसायलाई सम्मानित, व्यवस्थित र मर्यादित पेशाका रूपमा स्थापित गर्न नयाँ कार्यसमिति व्यवसायीहरूको हितमा अहोरात्र समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।



























