नेपाल दलित संघ केन्द्रीय कार्यसमितिले एक अपिल जारी गर्दै इतर समुहको राष्ट्रिय भेला सँग सम्बन्धित सार्बजनिक भएका केही गतिविधि प्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघका केन्द्रीय अध्यक्ष विपिन रामुदामु (विपेन्द्र) द्वारा जारी अपिलमा नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरिसकेको, निर्वाचन आयोग तथा सर्वोच्च अदालतबाट समेत वैधानिकता प्राप्त भइसकेको र सो कार्यसमितिले पार्टीको कार्यतालिका अनुसार काम गरिरहेको उल्लेख गरिएको छ। साथै, रिक्त रहेका भ्रातृ संस्थाहरूको नेतृत्व चयन गर्ने प्रक्रिया पनि अघि बढिरहेको जनाइएको छ।
अपिलमा नेपाल दलित संघको केन्द्रीय अध्यक्षसमेत रहेको भन्दै इतर समुहको ५५१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन गरिएको भन्ने समाचारप्रति संघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै त्यस्तो कुनै समिति वा कार्यक्रममा आफ्नो तथा नेपाल दलित संघको कुनै पनि संलग्नता नरहेको स्पष्ट पारिएको छ।
नेपाल दलित संघले नेपाली कांग्रेसबाट निर्वाचित महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, संघका पूर्व केन्द्रीय पदाधिकारी, प्रदेश, जिल्ला तथा पालिका तहका सम्पूर्ण नेता–कार्यकर्तालाई भ्रम र अफवाहमा नपरी तथाकथित भेला तथा कार्यक्रमहरूमा सहभागी नहुन समेत अपिल गरेको छ।




























