काठमाडौं । वैत्यश्वर गाउँपालिका–१ का वडा अध्यक्ष भिम बहादुर तामाङले आफ्नो कार्यकालमा स्वास्थ्य, शिक्षा र खानेपानीलाई प्रमुख प्राथमिकतामा राखेर विकास निर्माणका काम अघि बढाएको बताएका छन्।
वडा अध्यक्ष तामाङका अनुसार निर्वाचनका बेला जनतासामु गरेका प्रतिबद्धताअनुसार स्वास्थ्य, शिक्षा र खानेपानी क्षेत्रमा कामलाई प्राथमिकता दिइएको हो। स्वास्थ्यतर्फ भवन निर्माण तथा एम्बुलेन्स सेवासहितका योजनालाई कार्यान्वयन गरिएको उनले बताए।
उनले आफ्नो कार्यकालमा प्रतिबद्धताअनुसार करिब ५० प्रतिशत काम पूरा भएको र बाँकी योजनाहरूलाई पनि क्रमशः अघि बढाउने बताए। विकास निर्माणका क्षेत्रमा सोचेजति काम गर्न अझै बाँकी रहे पनि उपलब्ध स्रोतसाधनअनुसार योजनाहरू कार्यान्वयन भइरहेको उनको भनाइ छ।
कृषि तथा पशुपालन क्षेत्रमा युवाको आकर्षण बढाउने उद्देश्य रहे पनि व्यवसायिक रूपमा कृषि तथा पशुपालन गर्न युवाहरू सक्रिय रूपमा अघि नआएको अध्यक्ष तामाङले बताए। विदेशबाट फर्किएका युवाहरूले गाउँमै व्यवसायिक कृषि वा पशुपालन गर्ने गरी योजना लिएर आएको अवस्था पनि हालसम्म खासै नरहेको उनले उल्लेख गरे।
त्यस्तै, महिला हिंसालगायत हिंसाजन्य गतिविधि न्यूनीकरणका लागि छुट्टै अभियान तथा कार्यक्रम सञ्चालन गर्न नसकिएको अध्यक्ष तामाङले बताए। यस क्षेत्रमा आवश्यक बजेट तथा विशेष कार्यक्रमको अभाव रहेको उनको भनाइ छ।
अध्यक्ष तामाङले आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिएको बताउँदै आगामी दिनमा बाँकी योजनालाई समेत क्रमशः पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।



























