काठमाडौं । राष्ट्रिय विपद्को यस अवस्थामा देशमा भएको जनधनको क्षतिप्रति नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दुःख व्यक्त गरेको छ। महासंघ बागमती प्रदेशका संयोजक सुवन गिरीले विपद्को समयमा राज्यले आम नागरिकप्रति आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्नुपर्ने बताएकाछन्।
नेपाल अरनिको यातायात प्रालिले आयोजना गरेको रसुवा–भोटेकोसी बाढीपहिरोमा परी मृत्यु भएका तथा बेपत्ता भएका व्यक्तिहरूको सम्झनामा आयोजित श्रद्धाञ्जली तथा स्मृति सभामा बोल्दै गिरीले विपद्बाट सबैभन्दा ठूलो असर यातायात व्यवसायी, मजदुर, चालक तथा सहचालकमा परेको बताए।
उनले बाढीपहिरोका कारण सवारीसाधनमा ठूलो क्षति पुगेको, व्यवसाय प्रभावित भएको र यातायात मजदुरको रोजगारीसमेत संकटमा परेको उल्लेख गर्दै राज्यले व्यवसायी र मजदुरको लगानी तथा जीविकोपार्जन सुरक्षित गर्न विशेष ध्यान दिनुपर्ने बताए।
“राजनीतिक आस्था र विचारभन्दा माथि उठेर अहिले सबै एक ठाउँमा उभिनुपर्ने समय हो। विपद् मा परेका परिवारको पक्षमा सबै राजनीतिक दल, नागरिक समाज, व्यवसायी, मजदुर र आम नागरिकले हातेमालो गर्नुपर्छ,” गिरीले भने रसुवा बाढीपहिरोबाट विस्थापित भएका यातायात व्यवसायीलाई पुनः विस्थापित हुन नदिई स्थापित गराउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रतिबद्ध रहेको बताए।
“रसुवा बाढीपहिरोबाट यातायात व्यवसायीलाई विस्थापित हुन नदिई पुनः स्थापित गराउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रतिबद्ध छ,” उनले भने।
गिरीले विपद्बाट प्रभावित यातायात व्यवसायी, यातायात मजदुर तथा आम नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै क्षतिग्रस्त सवारीसाधन र व्यवसायको पुनःस्थापनाका लागि नेपाल सरकारले विशेष राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरे।
यसैगरी, उनले विपद्को समयमा उद्धार तथा राहत कार्यमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सामाजिक संघ–संस्था, स्वयंसेवक, सञ्चारकर्मी तथा यातायात क्षेत्रका श्रमिक र व्यवसायीप्रति आभार व्यक्त गरे।
रसुवा–भोटेकोसी बाढीपहिरोमा परी ज्यान गुमाउने सम्पूर्ण नेपाली तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गिरीले शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।
नेपाल अरनिको यातायात प्रालिद्वारा आयोजित श्रद्धाञ्जली तथा स्मृति सभामा बाढीपहिरोमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका यातायात व्यवसायी, चालक, सहचालक तथा अन्य व्यक्तिहरूको सम्झना गरिएको थियो।

























