काठमाडौं । अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, नेपाली भिसा तथा अध्यागमनसम्बन्धी विवरणलाई आधिकारिक अभिलेखका रूपमा मान्यता दिने तयारी गरेको छ। अध्यागमन सेवालाई थप सरल, सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले विभागले डिजिटल विवरणलाई सरकारी सेवा तथा प्रमाणीकरण प्रक्रियामा प्रयोग गर्न सकिने व्यवस्था अघि बढाएको हो।
विभागले सञ्चालनमा ल्याएको ‘Department of Immigration’ नामक मोबाइल एपमार्फत विदेशी नागरिकले आफ्नो राहदानी विवरण प्रविष्ट गरी व्यक्तिगत विवरण प्रमाणीकरण गरेपछि डिजिटल स्वरूपमा राहदानी, नेपाली भिसा तथा अन्य अध्यागमनसम्बन्धी विवरण हेर्न सक्ने व्यवस्था गरिएको छ।
विभागका अनुसार एपमा देखिने डिजिटल विवरणको मूल स्रोत विभागकै आधिकारिक ‘नेपाली पोर्ट’ प्रणाली हुनेछ। त्यसैले मोबाइलमा देखिने विवरण सामान्य फोटो, स्क्यान वा प्रयोगकर्ताले आफैं तयार गरेको प्रतिलिपि नभई विभागको आधिकारिक प्रणालीबाट प्राप्त हुने प्रमाणित अभिलेखका रूपमा रहनेछ।
प्रस्तावित व्यवस्थाअनुसार डिजिटल राहदानी तथा भिसाको विवरण विदेशी नागरिकको पहिचान, राहदानी, नेपाली भिसाको वैधता तथा अध्यागमन अवस्थासम्बन्धी विवरण प्रमाणित गर्न प्रयोग गर्न सकिनेछ। यसले कागजी कागजात बोकेर हिँड्नुपर्ने बाध्यता कम गर्नुका साथै आवश्यकताअनुसार सम्बन्धित निकायलाई विवरण प्रमाणीकरण गर्न सहज बनाउने विभागको अपेक्षा छ।
विदेशी नागरिकलाई सेवा प्रदान गर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, भन्सार तथा सीमा नाका कार्यालय, नेपाल नागरिक उड्डयन प्राधिकरण लगायत सरकारी निकायले आवश्यकताअनुसार डिजिटल विवरण प्रयोग गर्न सक्नेछन्। त्यस्तै प्रदेश तथा स्थानीय तहका निकाय, होटल, बैंक तथा वित्तीय संस्था, ट्रेकिङ तथा ट्राभल एजेन्सीले समेत सम्बन्धित प्रयोजनमा यसको प्रयोग गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।



























