काठमाडौं । सरकारले ‘रोजगार प्रवर्द्धन दशक’ अभियानअन्तर्गत कोशी प्रदेशको इटहरीमा सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले आगामी असोज १४ देखि २० गतेसम्म सात दिन सीप तथा रोजगार मेला सञ्चालन गर्न लागेको हो ।
आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०८३ देखि २०९२ सम्मलाई ‘रोजगार प्रवर्द्धन दशक’का रूपमा घोषणा गरी युवा जनशक्तिको ऊर्जा एवं सीपलाई स्वदेशमै उपयोग गर्ने वातावरण सिर्जना गर्ने लक्ष्य लिइएको छ । सोही लक्ष्यअनुसार मन्त्रालयले ‘सीप तथा रोजगार मेला सञ्चालन निर्देशिका, २०८३’ जारी गरी देशभर सीप तथा रोजगार मेला आयोजना गर्ने तयारी गरेको हो ।
कोशी प्रदेशको इटहरीमा आयोजना हुने मेलाको समग्र व्यवस्थापन, सञ्चालन तथा कार्यान्वयनका लागि ‘कार्यान्वयन, समन्वय र सहजीकरण समिति’ गठन गरिएको मन्त्रालयले जनाएको छ । समितिले मेलाको व्यवस्थापन, सञ्चालन तथा कार्यान्वयनका विषयमा आवश्यक समन्वय र सहजीकरण गर्नेछ ।
मेला सफल बनाउन संघ, प्रदेश र स्थानीय तहका सम्बन्धित निकाय, निजी क्षेत्र, उद्योग–प्रतिष्ठान, शैक्षिक तथा तालिम प्रदायक संस्था, विकास साझेदार, रोजगारदाता तथा उद्योग व्यवसायीको सहयोग र सहभागिता जुटाइने मन्त्रालयले जनाएको छ । मेलाका लागि आवश्यक वित्तीय, प्राविधिक तथा जनशक्तिसम्बन्धी सहयोग उपलब्ध गराउन कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय, स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयसँग समेत समन्वय गरिनेछ ।
मेलामा रोजगारदाता र रोजगार खोजकर्ताबीच प्रत्यक्ष सम्पर्क तथा रोजगारी मिलान गराउने व्यवस्था गरिनेछ । रोजगार खोजकर्ताको योग्यता, सीप, अनुभव र रुचिअनुसार उपयुक्त रोजगारीका अवसर पहिचान तथा पहुँच स्थापित गर्ने उद्देश्य मेलाको रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै मेलामा आवश्यक सीप परीक्षण, तालिम, प्रमाणीकरण, करिअर परामर्श तथा उद्यमशीलतासम्बन्धी सेवासमेत उपलब्ध गराइनेछ । रोजगारी तथा सीप विकाससम्बन्धी सूचना, रोजगारदाता कम्पनी, अन्तर्वार्ता क्षेत्र, सीप परीक्षण तथा प्रमाणीकरण डेस्क, तालिम तथा उद्यमशीलता सिफारिस सेवा, श्रम कानुन तथा सामाजिक सुरक्षा जानकारी, गुनासो सुनुवाइ, प्राथमिक उपचारलगायत आवश्यक सहजीकरणको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ ।
मेलामा सामाजिक सुरक्षा कोष, युवा तथा साना व्यवसायी स्वरोजगार कोष लगायत सम्बन्धित निकायलाई समेत स्टल राख्न अनुरोध गरिएको छ । यसबाट रोजगारी खोजिरहेका युवालाई रोजगारीसँगै स्वरोजगार, सामाजिक सुरक्षा तथा सीप विकाससम्बन्धी सेवाबारे प्रत्यक्ष जानकारी उपलब्ध गराउने मन्त्रालयको तयारी छ ।
मन्त्रालयले रोजगारदाता, तालिम तथा सीप प्रदायक संस्था, निजी क्षेत्र, विकास साझेदार, स्थानीय तह, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालालाई मेलामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ ।
मन्त्रालयका अनुसार मेलामार्फत सीप, रोजगारी, उद्यमशीलता र स्वरोजगार प्रवर्द्धन गर्दै श्रमको सम्मान तथा स्वदेशमै रोजगारीका अवसर अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।



























