काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन्।
चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह कतार एयरवेजको विमानबाट दोहा हुँदै न्युयोर्कतर्फ प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्बोधनका क्रममा उनले भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिसहित जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने बताइएको छ।
महासभाका क्रममा प्रधानमन्त्री शाहले नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या, विपद्जन्य जोखिम तथा त्यसबाट भइरहेको जनधनको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको धारणा राख्ने तयारी गरिएको छ।
त्यस्तै, महासभामा सहभागी विभिन्न मुलुकका प्रतिनिधिसँग द्विपक्षीय भेटवार्ता तथा आपसी हित र सहकार्यका विषयमा छलफल हुने कार्यक्रमसमेत रहेको जनाइएको छ।
महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली भने यसअघि नै असोज ४ गते न्युयोर्क प्रस्थान गरिसकेका छन्।



























