काठमाडौँ : नेपालमा ७ लाखभन्दा बढी विदेशी कामदार रहेका छन्। नेपालमा कार्यरत विदेशी श्रमिकको संख्या सरकारी तथ्यांकभन्दा धेरै बढी रहेको दाबी गरिएको छ। वैदेशिक श्रम स्वीकृति नलिई अवैध रूपमा नेपालमा काम गर्ने विदेशी नागरिकहरूको संख्या ७ लाख नाघेको बताइएको छ।
सरकारी तथ्यांकअनुसार नेपालमा हाल ३ सयभन्दा कम विदेशी श्रमिक मात्रै छन्। तर, भारत, पाकिस्तान, बंगलादेशलगायत दक्षिण एसियाली मुलुकका नागरिकहरू बिना श्रम स्वीकृति नै नेपालमा विभिन्न क्षेत्रमा कार्यरत रहेको मन्त्रीहरुकै भनाइ छ। कपाल काट्ने, गार्मेन्ट, निर्माण, होटल तथा घरेलु कामजस्ता क्षेत्रमा बढी विदेशी नागरिक कार्यरत रहेको बताइएको छ।
भारत र नेपालबीच भएको द्वैपक्षीय सहमति अनुसार नागरिकहरूले एकअर्काको देशमा श्रम स्वीकृति बिना नै काम गर्न पाउने कानुनी व्यवस्था छ। यही प्रावधानको आडमा ठूलो संख्यामा भारतीय नागरिकहरू नेपालमा बेरोकटोक काम गरिरहेका छन्।
श्रम प्रशासन र नियमन कमजोर हुँदा अन्य देशका नागरिकले पनि विभिन्न माध्यमबाट नेपालमा प्रवेश गरी काम गरिरहेको सरकारी अधिकारीहरू स्वीकार्छन्। यस्ता श्रमिक नियमनबाहिर रहेकाले कर प्रणालीदेखि सामाजिक सुरक्षासम्म असर पारिरहेको सरोकारवालाहरूको भनाइ छ।
राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको कार्यक्रममा बोल्दै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाली युवाले स्वदेशमै काम गर्न नचाहेपछि श्रमिक अभाव चुलिएको बताएका छन्। ‘देशमा कामको खाँचो छैन, तर युवाहरूको रोजाइ विदेश हो,’ मन्त्री चौधरीले भने, ‘विदेश जानुअघि सिप त सिक्छन्, तर स्वदेशमै सीप प्रयोग गर्न चाहँदैनन्।’
उनका अनुसार अहिलेको आवश्यकता युवालाई सिपयुक्त बनाउँदै स्वदेशमै रोजगारी सिर्जना गर्नु हो। ‘युवालाई सिपयुक्त बनाएर यहीँ रोजगारीमा जोड्न सक्यौं भने मात्र विदेशी श्रमिकमा निर्भरता घटाउन सकिन्छ,’ उनले भने।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य प्रमोद लामिछानेका अनुसार मुलुकमा हाल २४ लाख कामदारको माग छ, तर श्रमिकको आपूर्ति हुन सकेको छैन। ‘७ लाखभन्दा बढी विदेशी नेपालमा काम गरिरहेका छन् ।
पछिल्लो समय नेपाली युवाको आकर्षण युरोपतर्फ बढ्दै गएको छ। राम्रो तलब, सुरक्षित जीवनशैली र भबिष्यको सम्भावनाका कारण उनीहरू मध्यपूर्वभन्दा युरोप रोज्न थालेका छन्।
छलफल कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरूलाई सिपयुक्त बनाई रोजगारीसँग जोड्न आवश्यक रहेको बताए। बस्नेतले त्यसका लागि ७७ वटै जिल्लाका स्थानीय तहसँग समन्वय गरिने जानकारी दिए।
उनले ६० लाखभन्दा बढी युवा विदेशमा कार्यरत रहेको स्वीकार गर्दै हजारौँ युवा दैनिक स्वदेश फर्किरहेकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए। “दैनिक १४ सयसम्म युवा स्वदेश फर्किरहेका छन् भन्ने कुरा भुल्न हुन्न,” उनले जोड दिए।
विशेषज्ञहरूका अनुसार यदि तत्काल सिप र रोजगारीबीचको सन्तुलन कायम गरिएन भने यसले दीर्घकालमा नेपाली श्रम बजार र अर्थतन्त्र दुवैलाई जोखिममा पार्न सक्छ।



























