काठमाडौं : पर्यटन भिसाको म्याद सकिएको लामो समयपछि पनि अवैध रूपमा नेपालमा लुकेर बसिरहेका दुई जापानी नागरिक स्याङ्जाबाट पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले दिएको जानकारीअनुसार, पुतलीबजार नगरपालिका-१, प्रगतिनगरमा लुकीछिपी बसोबास गर्दै आएका ती विदेशी नागरिकलाई विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा जापानको सिरोरी सिटीका ४६ वर्षीय योइचिरो यहागी र ४७ वर्षीया हानाको यहागी रहेका छन्। उनीहरू प्रवेशाज्ञा नवीकरण नगरी नेपालमै अवैध रूपमा बसोबास गरिरहेको अवस्थामा भेटिएका हुन्।
दुवैजनालाई हाल थप अनुसन्धानका लागि पोखरास्थित पर्यटक प्रहरी कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।
नेपालको अध्यागमन कानुनअनुसार, अवैध रूपमा बसोबास गर्ने विदेशीलाई जरिवाना, निष्कासन र पुनःप्रवेशमा रोक लगाउने व्यवस्था छ। यस्तो खालका घटनाले अध्यागमन निगरानीको प्रभावकारितामाथि प्रश्न उठाएको छ।



























