काठमाण्डौं । मलेसियाका लागि नेपाली राजदूत नेत्र तिमिल्सिना गैरआवासीय नेपाली संघ (एनआरएनए )को वैधानिकता नभएको पक्षले आयोजना गरेको कार्यक्रममा सहभागी भएपछि विवादमा तानिएका छन्। यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीले डा. बद्री केसीको नेतृत्वमा रहेको निर्वाचित कार्यसमितिलाई एनआरएनएको आधिकारिक मान्यता दिएको एक महिना पनि नबित्दै राजदूत तिमिल्सिना अवैध पक्षको कार्यक्रममा अतिथिको रूपमा पुगेका आरोप लागेको हो ।
आधिकारिक एनआरएनएका सदस्यहरूका अनुसार तिमिल्सिनालाई यसअघि तीन पटकसम्म औपचारिक कार्यक्रममा बोलाइए पनि उनले विवादमा नपर्ने भन्दै सहभागी हुन अस्वीकार गरेका थिए। तर, यसपटक उनले प्रधानमन्त्रीको निर्णय र निर्देशनलाई बेवास्ता गर्दै अवैध पक्षको कार्यक्रममा भाग लिएका र यो कार्यलाई एनआरएनएका सदस्यहरूले प्रधानमन्त्रीको निर्णयलाई चुनौती दिएको भनी आलोचना गरेका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समितिले राजदूत तिमिल्सिनाको गतिविधिप्रति गम्भीर आपत्ति जनाएको छ। एक प्रेस विज्ञप्ति जारी गर्दै संघले राजदूतले एनआरएनएको विधानविपरीत आयोजित कार्यक्रममा आधिकारिक रूपमा सहभागी भएको र वैधानिक रूपमा निर्वाचित कार्यसमितिको अवहेलना गरेको आरोप लगाएको छ।
विज्ञप्तिमा भनिएको छ कि संघको विधानले तोकेको निर्वाचन समयावधि भन्दा बाहिरको कार्यक्रममा राजदूतको सहभागिता, निर्वाचित पदाधिकारीहरूमाथि निराधार आरोप लगाउनु र सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा असान्दर्भिक टिप्पणी गर्नु गैरजिम्मेवारपूर्ण र पदको गरिमामाथि ठेस पुर्याउने काम हो।
आरएनए मलेसियाले गत जुलाई २७ मा विधानअनुसार नवौं महाधिवेशन सम्पन्न गरी कार्यसमिति निर्वाचित गरेको दाबी गरे पनि राजदूत तिमिल्सिनाको यो कदमलाई विभाजनकारी र निन्दनीय भनिएको छ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिले नेपालका केही जिम्मेवार नेताहरू समेत यस्ता गतिविधिमा संलग्न हुनु दुःखद रहेको बताएको छ। संघले प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयलाई राजदूतको गैरजिम्मेवार कार्य रोक्न तत्काल आवश्यक कदम चाल्न माग गरेको छ। यो घटनाले विदेशमा रहेका नेपालीहरूबीच एकता कायम गर्ने प्रयासलाई कमजोर पार्ने संघको भनाइ छ।




























