काठमाडौं । बैंक तथा वित्तीय संस्थाले मर्जर र एफपीओबापतको १२ अर्ब ४७ करोड कर बुझाएका छन् ।
एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनबाट दुई दिनमा १२ अर्ब ८१ करोड रुपैयाँ राज्य कोषमा कर दाखिला भएको हो ।
सर्वोच्च अदालतबाट मुद्दा हारेका बैङ्क तथा वित्तीय संस्थाका लागि जरिवाना छल्नको लागि आन्तरिक राजस्व कार्यालयले मङ्सिर मसान्त सम्मको समय दिएको थियो ।
सर्वोच्च अदालतको फैसलासँगै करदाताले छूट सुविधा लिएर शुक्रवार र शनिवार दुई दिनमा उक्त रकम कर बुझाएका हुन ।
दुई दिनको समयमा मर्जर गरेका र एफपीओ जारी गरेका बैङ्क तथा वित्तीय संस्थाले यो कर तिरेको ठुला करदाता कार्यालयका प्रमुख कर प्रशासक जनकराज शर्माले जानकारी दिए।
दुई दिनमा ४१ करदाताले उक्त कर रकम दाखिला गरेका हुन । शनिवार बिदाको दिनमा समेत कार्यालय खोलेर सेवा दिएको ठुला करदाता कार्यालयले जनाएको छ । छूटेका ठुला करदाताले पुस १ गते अर्थात् आजदेखि कानुनी हिसाबले जरिवाना लाग्ने भनिएको छ ।
महालेखा परीक्षकको कार्यालयले देखाएको कैफियतका आधारमा चालु वर्षको बजेटमार्फत सरकारले मर्जर र एफपीओमा कर लगाइएपछि बैङ्क तथा वित्तीय संस्था कर रोक्नका लागि सर्वोच्च अदालत गएका थिए ।




























