काठमाडौं ।वैदेशिक रोजगार व्यवसायी संघले नेपालबाट रोजगारीको लागि साउदी अरब जाने नेपाली कामदारलाई नेपालस्थित साउदी दुतावासले आर्थिक भार पारेको भन्दै आपत्ति जनाएको छ । दुतावासले नेपाली कामदारले बायोमेट्रिक गर्नुपर्ने भन्दै थप आर्थिक भार पारेको भन्दै संघले आपत्ति जनाएको हो ।
नेपालबाट फेमेलि भिसा, भिजिट भिसा मात्रै बायोमेट्रिक गर्नुे पर्ने व्यवस्था रहेको छ भने, दुतावासले जनावरी १ २०२४ देखि कामदारलाई पनि बायोमेट्रिक अनिवार्य गर्न पर्ने बनाएको हो ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विज्ञप्ति निकालेर कामदारलाई बायोमेट्रिक लागू गर्न खोजे भन्दै विरोध जनाएको छ ।
विज्ञप्तिमा यस्तो भनिएको छ:-
‘साउदी अरब दूतावासले नेपाल सरकार र नेपाल वैदेशिक रोजगार व्यवसायी संघसँग कुनै छलफल नगरी बायोमेट्रिक लागू गर्न खोजेको छ । यसले कामदारलाई आर्थिकभार पार्ने भएकाले नै हामीले विरोध गरेको हो । बायोमेट्रिकको नाममा लामो समय काठमाडौं बसेर ठूलो खर्च हुन्छ । एकाधिकार जन्माउनेको यो शुरुवात पनि हो । हामी व्यवसायीले ३० वर्षदेखि सहज ढंगले कामदार पठाइरहेका छौं । कामदरसँग जोडिने हरेक विषयमा नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल र स्विकृतिबिना खडा हुने भिसा सेन्टरलगायतका संस्थाहरु यस संघलाई मान्य हुने छैन,’। यस विषयमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयलाई ध्यानाकर्षण गराउँदै कुनै एक संस्थामार्फत एकाधिकार लागू गर्न खोजिएको खण्डमा नेपाल संघले कडा प्रतिवाद गर्ने छ।


























