काठमाडौं । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीबाट फर्किएका कामदारले विदेशमा हासिल गरेको ज्ञान, सीप तथा अनुभवलाई स्वदेशी श्रम बजारसँग जोड्ने योजना अघि बढाएको छ।
बोर्डले वैदेशिक रोजगारीका क्रममा हासिल गरेको ज्ञान, सीप र क्षमतालाई तालिम प्रदायक संस्थामार्फत स्तरीकरण गरी उत्पादनशील रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्यले कार्यक्रम अघि बढाएको जनाएको छ।
वैदेशिक रोजगारीबाट फर्किएका युवाले विदेशमा रहँदा आर्जन गरेको पुँजी, प्रविधि, ज्ञान, सीप र अनुभवलाई स्वदेशमै उपयोग गर्न सके त्यसबाट व्यक्तिगत रोजगारीसँगै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुग्ने बोर्डको अपेक्षा छ।
यसका लागि बोर्डले वैदेशिक रोजगारीबाट फर्किएका इच्छुक व्यक्तिको सीप तथा तालिमको आवश्यकता पहिचान गर्न गुगल फारममार्फत विवरण संकलन गर्ने भएको छ। इच्छुक रिटर्नीले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र https://forms.gle/Y2Yrm3 RuL9sL3hUW9 गुगल फारम भर्नुपर्नेछ।
प्राप्त विवरणका आधारमा रिटर्नीको ज्ञान, सीप तथा अनुभव र आवश्यकताअनुसार तालिमको पहिचान गरी उनीहरूलाई स्वदेशी श्रम बजारमा जोड्ने तथा उत्पादनशील स्वरोजगारका अवसर सिर्जना गर्ने बोर्डको योजना छ।
बोर्डद्वारा जारी सूचनामा वैदेशिक रोजगारीबाट फर्किएका इच्छुक व्यक्तिलाई तोकिएको समयभित्र गुगल फारम भरी कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।



























