काठमाडौं । इरानसमर्थित हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादसहित लाल सागर तटीय क्षेत्रमा रहेका ऊर्जा पूर्वाधारलाई लक्षित गरी ड्रोन तथा ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन् ।
साउदी अधिकारीहरूले शनिबार रियादतर्फ प्रहार गरिएको एउटा ब्यालिस्टिक क्षेप्यास्त्रलाई हावामै नष्ट गरिएको बताएका छन् । अन्य आक्रमण तथा त्यसबाट भएको जनधनको क्षतिबारे भने साउदी पक्षले तत्काल पुष्टि गरेको छैन ।
आक्रमणका क्रममा रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल नजिकैका इन्धन ट्याङ्कबाट कालो धुवाँको मुस्लो उठेको देखिएको थियो । त्यसपछि विमानस्थलका केही उडान प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
हुथीहरूले जुलाईयता साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि पहिलोपटक रियादमा हवाई आक्रमणको चेतावनीसहित एयर रेड अलर्ट जारी गरिएको बताइएको छ । साउदी नागरिक सुरक्षा निकायले मोबाइल फोनमार्फत समेत सम्भावित खतराबारे सर्वसाधारणलाई सतर्क गराएको थियो ।
हुथी सैन्य प्रवक्ता याह्या अल–सारियाले रियाद तथा लाल सागर तटीय क्षेत्रको यान्बुमा रहेको साउदी राष्ट्रिय तेल तथा ग्यास कम्पनी अरामकोका संवेदनशील संरचनालाई लक्षित गरी ठूलो संख्यामा ब्यालिस्टिक तथा क्रुज क्षेप्यास्त्र र ड्रोन प्रयोग गरिएको दाबी गरेका छन् ।
उनका अनुसार यमनको राजधानी सानामाथि साउदी नेतृत्वको गठबन्धनले गरेको भनिएको आक्रमणको जवाफमा उक्त कारबाही गरिएको हो । हुथीहरूले साउदी अरबले गत साता यमनभर ३०० भन्दा बढी हवाई आक्रमण गरेको आरोपसमेत लगाएका छन् ।
यसैबीच, साउदी नेतृत्वको गठबन्धनले बिस, ताइफ, फरासान र यान्बु क्षेत्रमा नागरिकलाई लक्षित गर्ने विभिन्न ‘शत्रुतापूर्ण प्रयास’लाई आफ्नो वायु रक्षा प्रणालीले विफल बनाएको जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयले पनि मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन तथा सम्भावित उडान रद्द र अन्य यात्रा अवरोधका लागि तयार रहन आग्रह गरेको छ । मन्त्रालयले हुथीहरूले साउदी अरबका नागरिक विमानस्थलसहित विभिन्न क्षेत्रमा आक्रमण गरिरहेको भन्दै क्षेत्रीय सैन्य द्वन्द्व थप फैलिन सक्ने चेतावनी दिएको छ ।
यमनमा हुथी विद्रोही र साउदी समर्थित अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारबीच लामो समयदेखि द्वन्द्व जारी छ । पछिल्लो समय दुवै पक्षबीचको सैन्य तनाव बढ्दै गएको छ ।
एएफपीका अनुसार शनिबार हुथी र साउदी समर्थित सरकारी बलबीच भएको भिडन्तमा ४८ जनाको मृत्यु भएको छ । हुथी पक्षले आफ्ना ३१ लडाकु मारिएको जनाएको छ भने सरकारी स्रोतले १७ सैनिकको मृत्यु भएको बताएको छ ।
यसअघि संयुक्त राष्ट्रसङ्घीय निकाय अन्तर्राष्ट्रिय प्रवासन सङ्गठन (आईओएम) ले पछिल्लो द्वन्द्वका कारण विस्थापित हुनेको संख्या १ लाख ४ हजार ७९६ नाघेको जनाएको थियो ।
यस घटनाले साउदी अरबको तेल उत्पादन तथा निर्यात पूर्वाधारको सुरक्षाबारे थप चिन्ता बढाएको छ । विशेषगरी लाल सागर क्षेत्रको सुरक्षा अवस्था बिग्रिँदा विश्वव्यापी ऊर्जा आपूर्ति र तेलको मूल्यमा समेत असर पर्न सक्ने भन्दै अन्तर्राष्ट्रिय बजारमा चासो बढेको छ ।



























