काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानलाई भाषण र औपचारिकतामा सीमित नराखी नागरिकको दैनिक जीवनमा अनुभूति हुने गरी कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ का अवसरमा शनिबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कार स्थापित गर्न सके मात्रै लोकतन्त्र बलियो हुने बताए ।
‘हामीले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कार स्थापित गर्न सक्यौँ भने मात्र लोकतन्त्र बलियो हुन्छ र संविधानले स्थापित गर्न चाहेका संकल्पहरू पूरा हुन्छन्,’ उनले भने, ‘यसका लागि आउनुहोस्, आज हामी संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतार्ने संकल्प गरौँ ।’
राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक रहेको बताए । संविधान कागजमा लेखिएका शब्द वा वाक्यको संग्रह मात्र नभई नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा भएको उनको भनाइ थियो ।
उनले संविधान दिवसलाई संविधान प्राप्तिको उत्सवसँगै आत्मसमीक्षा गर्ने दिनका रूपमा लिनुपर्ने बताए । विपत्को पीडाबीच संविधान दिवस मनाइरहँदा संविधानले प्रत्याभूत गरेका अधिकार र राज्यका दायित्व नागरिकले व्यवहारमै अनुभूति गर्न पाएका छन् कि छैनन् भन्ने विषयमा समीक्षा आवश्यक रहेको उनको भनाइ थियो ।
राष्ट्रपति पौडेलले नेपालको संवैधानिक इतिहासमा निर्वाचित जनप्रतिनिधिमार्फत आफ्नै संविधान आफैँ लेख्ने नेपाली जनताको सात दशकभन्दा लामो आन्दोलन, त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको स्मरण गरे ।
संविधान दिवसका अवसरमा उनले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन आहुति दिने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनका क्रममा जेल, नेल, निर्वासन तथा विभिन्न यातना सहेर लोकतन्त्र र परिवर्तनका पक्षमा उभिएका योद्धाहरूप्रति सम्मान र आभार व्यक्त गरे ।



























