काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१, ठूलो स्याफ्रुका ११० परिवारका लागि भारतस्थित सिख एड च्यारिटेबल ट्रस्ट, कटकले राहत सामग्री उपलब्ध गराएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को समन्वय तथा सहजीकरणमा उपलब्ध गराइएको राहत सामग्री रसुवाको धुन्चे पुर्याइएको छ। राहत सामग्रीमा १० वटा ग्यास सिलिन्डर, ११० वटा ग्यास चुलो, ११० सेट भान्साका सामग्री, २०० थान कम्बल र ११० वटा प्रेसर कुकर रहेका छन्।
स्थानीय तहसँगको समन्वयमा राहत सामग्री हेलिकप्टरमार्फत ठूलो स्याफ्रु पुर्याएर प्रभावित परिवारलाई वितरण गरिने एनआरएनएका प्रवक्ता सोम सापकोटाले जानकारी दिए। उनका अनुसार ९० सेट बढी प्रभावित तथा विपन्न परिवारलाई, १० सेट थप आवश्यकतामा रहेका परिवारलाई र १० सेट धुन्चेस्थित गुम्बालाई उपलब्ध गराइनेछ।
सिख एडका संस्थापक रौनक सिंहसहित स्वयंसेवक टोलीले प्रभावित क्षेत्रका परिवारका लागि आवश्यक राहत सामग्री जुटाएको हो। राहत वितरण तथा प्रभावित क्षेत्रको आवश्यकताबारे जानकारी लिन एनआरएनएले स्थानीय तह र स्वयंसेवक टोलीसँग समन्वय तथा सहजीकरण गरिरहेको जनाएको छ।
विपद्का बेला प्रभावित परिवारलाई मानवीय सहयोग उपलब्ध गराएको भन्दै एनआरएनएका प्रवक्ता सापकोटाले सिख एड च्यारिटेबल ट्रस्ट, संस्थापक रौनक सिंह तथा स्वयंसेवक टोलीप्रति आभार व्यक्त गरेका छन्।



























