काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सञ्चारकर्मीले प्रश्न सोध्ने शैलीप्रति असन्तुष्टि जनाएका छन्। आज पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक नभएपछि बाहिरिने क्रममा सञ्चारकर्मीले ओलीलाई विभिन्न समसामयिक तथा राजनीतिक विषयमा प्रश्न गरेका थिए।
सञ्चारकर्मीहरूले ओलीसँग प्रश्न गर्न थालेपछि उनले एकै ठाउँमा बोलाएर प्रश्न गर्न आग्रह गर्दै सञ्चारकर्मीले अपनाएको शैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। प्रश्नोत्तरका क्रममा ओलीले आफूलाई प्रश्न सोध्दा पहिल्यै अनुमति लिनुपर्ने र आफूले दिएको जवाफ प्रकाशन गर्नुअघि देखाउनुपर्ने आशयसमेत व्यक्त गरे।
‘तपाईंहरूले यसरी घोचेर प्रश्न सोध्ने नगर्नुस्,’ ओलीले सञ्चारकर्मीलाई भने।
ओलीले सञ्चारकर्मीको प्रश्न गर्ने तरिकाप्रति असन्तुष्टि जनाएपछि केहीबेर त्यहाँ संवादको अवस्था बनेको थियो। सञ्चारकर्मीले थप प्रश्न गर्न खोजे पनि ओलीले त्यसको जवाफ दिएनन्।
सचिवालय बैठकका विषयमा तथा समसामयिक राजनीतिक घटनाक्रमबारे सञ्चारकर्मीले प्रश्न गर्ने प्रयास गरे पनि ओली थप प्रतिक्रिया नदिई पार्टी कार्यालयबाट बाहिरिएका थिए।



























