काठमाडौ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्न संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन्।
संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना सन्देश दिँदै ओलीले मुलुकको रक्षा र संविधानको संरक्षणका लागि लोकतान्त्रिक तथा संविधान पक्षधर शक्तिहरूबीच एकता आवश्यक रहेको बताएका हुन्।
ओलीले लोकतान्त्रिक, वामपन्थी तथा देशभक्तिपूर्ण आन्दोलनका साथै विभिन्न वर्ग, क्षेत्र र समुदायका अधिकारका लागि भएका संघर्षमा सहादत प्राप्त गर्नेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
संविधान जारी भएलगत्तै मुलुकले भोगेको नाकाबन्दीजस्तो कठिन परिस्थितिले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि थप प्रेरणा दिएको उनले स्मरण गरेका छन्।
संविधान निर्माणका क्रममा आइपरेका चुनौती पार गर्दै एमाले नेतृत्वको सरकारले छोटो समयमै आवश्यक कानुन निर्माण र संरचनागत विकासमार्फत संविधान कार्यान्वयनलाई अघि बढाएको ओलीको दाबी छ।
उनले संविधानले सुनिश्चित गरेका लोकतान्त्रिक उपलब्धि, राष्ट्रिय स्वाधीनता र जनअधिकारको संरक्षण गर्दै मुलुकलाई एकताबद्ध बनाउन संविधान पक्षधर शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताएका छन्।



























