काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नागरिकलाई न्यून लागतमा आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले नयाँ जीवन बीमा योजना सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो नवौँ वार्षिकोत्सवको अवसर पारेर ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सञ्चालनमा ल्याएको हो।
असोज १ गते आयोजित उत्पादन शुभारम्भ कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले नयाँ बीमा योजना सार्वजनिक गरेका हुन्।
कम्पनीका अनुसार १८ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई लक्षित गरी ल्याइएको यो योजनाले विशेषगरी परिवारका संरक्षकको व्यावसायिक तथा पारिवारिक दायित्वलाई ध्यानमा राख्दै आर्थिक सुरक्षा प्रदान गर्नेछ।
योजनाअन्तर्गत न्यूनतम १० लाख रुपैयाँदेखि आयस्रोतका आधारमा आवश्यकताअनुसार बीमाङ्क छनोट गर्न सकिनेछ। बीमाशुल्क मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा भुक्तानी गर्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ।
बीमितको मृत्यु भएमा बीमाङ्क रकमको १०० प्रतिशत दाबी भुक्तानी गरिनेछ। त्यस्तै, ऐच्छिक सुविधाअन्तर्गत ५० हजार रुपैयाँसम्म किरिया खर्च तथा १ लाख रुपैयाँसम्मको ‘सन मेडिकेयर’ आपत्कालीन स्वास्थ्य सेवा सुविधा लिन सकिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार नयाँ योजना देशभर रहेका शाखा तथा उपशाखाबाट खरिद गर्न सकिनेछ। त्यस्तै, डिजिटल माध्यमबाट पनि बीमा योजना खरिद गर्न सकिने व्यवस्था गरिएको छ। कम्पनीको वेबसाइट तथा सन कनेक्टमार्फत समेत योजना खरिद गर्न सकिने जनाइएको छ।
२०७४ असार ६ गते बीमकका रूपमा दर्ता भई औपचारिक कारोबार सुरु गरेको सन नेपाल लाइफको अधिकृत पुँजी १० अर्ब र चुक्ता पुँजी ५ अर्ब २८ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
ISO 27001:2022 प्रमाणित कम्पनीका रूपमा रहेको सन नेपाल लाइफले हाल ४० हजारभन्दा बढी अभिकर्ता तथा १३६ शाखा तथा उपशाखामार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।
दुर्घटना, अशक्तता तथा आकस्मिक स्वास्थ्य जोखिमबाट उत्पन्न आर्थिक भार न्यूनीकरण गर्दै दीर्घकालीन वित्तीय सुरक्षा प्रदान गर्ने उद्देश्यअनुसार नयाँ योजना ल्याइएको कम्पनीको भनाइ छ।




























