काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावनाप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
संविधान दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधानको वास्तविक कार्यान्वयन नागरिकले अनुभूति गर्ने सेवा, पारदर्शी निर्णय र सुशासनमार्फत हुने बताए।
‘संविधानप्रतिको निष्ठा र यसको पालनामा हामी पूर्ण प्रतिबद्ध छौँ,’ उनले भने, ‘संविधान जारी भएको दिन हरेक वर्ष आउँछ, तर संविधान पूरा हुने दिन हामीले आफैं ल्याउनुपर्छ।’
जनताले सुशासन, विकास, समृद्धि र सामाजिक न्याय चाहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सरकारका हरेक कदम त्यही जनआकांक्षातर्फ केन्द्रित रहेको बताए। प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानुनी राज्यलाई सरकारको प्राथमिक आधारका रूपमा अघि बढाइने उनको भनाइ थियो।
संविधानले परिकल्पना गरेको विभेदरहित, समतामूलक र समृद्ध समाज निर्माणका लागि राज्य सञ्चालन गर्ने व्यक्तिहरू इमानदार र निरन्तर सक्रिय हुनुपर्नेमा उनले जोड दिए।
प्रधानमन्त्री शाहले भ्रष्टाचार र दण्डहीनताविरुद्ध सरकार कडा रूपमा प्रस्तुत हुने बताए। प्रशासनिक संरचनालाई आवश्यकताअनुसार व्यवस्थित गर्ने, प्रशासनमा राजनीतिक तटस्थता कायम गर्ने तथा सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्ति गर्ने सरकारको नीति रहेको उनले उल्लेख गरे।
‘सुशासन नारा होइन, काम हो। हामी काम गरिरहेका छौँ,’ प्रधानमन्त्री शाहले भने।
सरकारले डिजिटल प्रविधि, कृत्रिम बुद्धिमत्ता र साइबर सुरक्षालाई प्राथमिकतामा राख्दै नवप्रवर्तन तथा नवउद्यममार्फत ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्ने पनि उनले बताए।
भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री शाहले उद्धार तथा राहतमा सहयोग गर्ने मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय, संघसंस्था, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारी र आम नागरिकप्रति आभार व्यक्त गरे।
नेपाल विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै उनले विपद् आइसकेपछि मात्र प्रतिक्रिया जनाउने नभई जोखिम न्यूनीकरण र पूर्वतयारीलाई प्राथमिकता दिने बताए। विपद्को पूर्वसूचना प्रणालीलाई उच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याउने सरकारको योजना रहेको उनले जानकारी दिए।
प्रधानमन्त्री शाहले विभिन्न आन्दोलनमा जीवन आहुति दिने ज्ञात–अज्ञात शहीद तथा जेनजी आन्दोलनमा सहादत प्राप्त गरेकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भोटेकोशी बाढीमा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति पनि श्रद्धाञ्जली अर्पण गरे।



























