काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा करेक्सन आएको छ ।
विगत ८ कारोबार दिनदेखि लगातार बढिरहेको नेप्से यस दिन १८.४४ अंक घटेर २९६४.२० विन्दुमा झरेको हो। पछिल्लो समय २५६.८९ अंकले बढेकाले अल्पकालीन लगानीकर्ताहरूले नाफा सुरक्षित गर्न खोज्दा गिरावट देखिएको विश्लेषण गरिएको छ। बजारले ३००० देखि ३०५० को प्रतिरोध स्तर परीक्षण गरेपश्चात नै करेक्सन आएको हो।
नेप्से घटेपनि कारोबार रकम भने उच्च बढेको छ। बिहीबार करिब साढे १८ अर्बको कारोबार भएकोमा, आइतबार २६ अर्ब ४२ करोड १८ लाख ९६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यस दिन समता घरेलु लघुवित्त, ट्रेड टावर र सान्भि इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। यद्यपि, नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ६.३४ प्रतिशतले घट्यो।
शिवम् सिमेन्ट्सले १ अर्ब २ करोड रुपैयाँभन्दा बढीको कारोबारसहित शीर्ष स्थान ओगट्यो। १३ उपसमूहमध्ये ५ वटाको परिसूचक बढे पनि ८ वटामा गिरावट देखियो, जसमा वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी र जीवन बीमा उपसमूह १ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन् ।



























