काठमाडौं : महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीको बजार विस्तारका उद्देश्यसहित २२ औं डाबर तीज फेस्टिभल तथा सिर्जनशील उद्यमी मेला बिहीबारदेखि सुरु भएको छ।
उद्योगमन्त्री दामोदर भण्डारीले बालुवाटारस्थित आम्रपाली बैंक्वेटमा आयोजित मेलाको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै मन्त्री भण्डारीले मेलाले महिला र युवालाई व्यवसायमा प्रोत्साहन पुग्ने बताए। महिला सिर्जनशील केन्द्रकी अध्यक्ष मिलु थापाले मेलाको उद्देश्य महिलालाई सीपमूलक तालिममार्फत उद्यमशीलता र स्वरोजगारतर्फ प्रेरित गर्नु र प्रविधिमैत्री वातावरण सिर्जना गर्दै आर्थिक सशक्तीकरणमा योगदान पुर्याउनु रहेको बताइन् ।
मेलामा लत्ता–कपडा, कस्मेटिक, चुरा–पोते, गरगहना, विभिन्न परिकारलगायतका सामग्री प्रदर्शनी र बिक्रीका लागि राखिएका छन्। सिर्जनशील केन्द्र प्रवर्द्धन तथा राइजिङ नेपाल प्रालिको सहकार्यमा, इभेन्टसञ्चार डटकमको व्यवस्थापनमा मेला सञ्चालन भएको हो। एक सय स्टलसमेत रहेको मेला साउन २५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन्।



























