काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसाय संघले वैदेशिक रोजगार ऐन, २०६४ लाई संशोधन गर्ने महत्त्वपूर्ण निर्णयका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीलाई हार्दिक आभार प्रकट गरेको छ।
संघले प्रत्येक आर्थिक वर्षमा १०० जना कामदार पठाउने व्यवसायीहरूको इजाजतपत्र नवीकरणको प्रावधान खारेज गर्ने निर्णयका लागि मन्त्री भण्डारीसहित मन्त्रालयका अन्य पदाधिकारीहरूलाई धन्यवाद दिएको हो।
यो निर्णयले व्यवसायीहरूलाई ठूलो राहत पुगेको संघको भनाइ छ। संघका अध्यक्ष भुवन सिंह गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस महत्वपूर्ण कार्यका लागि मन्त्री भण्डारी, श्रम सचिव, सहसचिव, कानुन शाखा प्रमुख, मन्त्रालयका सम्पूर्ण कर्मचारी, पत्रकार, नागरिक समाज र अन्य सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरिएको छ। संघका अनुसार, यो संशोधनले वैदेशिक रोजगार व्यवसायलाई थप सहज र प्रभावकारी बनाउन सहयोग पुग्नेछ। संघले आगामी दिनमा पनि यस्ता सकारात्मक कदमको अपेक्षा गरेको जनाएको छ।




























