काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यमा कलङ्की होटल एण्ड गेष्ट हाउस एशोसिएसनको १३औँ वार्षिक साधारण सभा तथा तिज विशेष कार्यक्रम आज सम्पन्न भएको छ।
एशोसिएसनका अध्यक्ष रमेश कुमार बरालको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन मन्त्री पाण्डेले पानसमा बत्ती बालेर गर्नुभएको थियो। कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासमा होटल तथा गेष्ट हाउसको महत्वपूर्ण भूमिका रहेको बताए। उहाँले पर्यटन प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।
एशोसिएसनका अध्यक्ष रमेश बरालले संस्थाले पर्यटन क्षेत्रमा पुर्याएको योगदानबारे प्रकाश पार्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले होटल व्यवसायीले भोग्नुपरेका समस्या र चुनौतीबारे मन्त्रीलाई जानकारी गराउनुभएको थियो। त्यसैगरी, महासचिव राजु घिमिरेले व्यवसायीलाई प्रोत्साहन गर्नु पर्नेमा जोड दिनुभयो।

कार्यक्रममा जिल्ला होटल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश बराल, बालाजु होटल व्यवसायी संघका अध्यक्ष सूर्य बहादुर खाती, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका पूर्व महासचिव दामोदर नेपाललगायतका वक्ताहरूले पर्यटनको समग्र विकासका लागि व्यवसायीमैत्री वातावरण बनाउन सरकारलाई सुझाव दिएका थिए।
वार्षिक साधारण सभाको अवसरमा एशोसिएसनले आफ्नो वार्षिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरेकोमा सभाले सर्वसम्मतिले पारित गर्यो।
कार्यक्रमको दोस्रो चरणमा तिज विशेष सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो। तिजसँग सम्बन्धित गीत तथा नृत्य प्रस्तुत गरी उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए।
उक्त कार्यक्रममा विभिन्न सरकारी अधिकारी, होटल पर्यटन व्यवसायी, पत्रकार, एशोसिएसनका पदाधिकारी तथा सदस्यहरू लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो।




























