काठमाडौं : नेकपा एमालेका सांसद योगेश भट्टराईले उपसभामुख इन्दिरा राना मगरले कसैलाई जानकारी नगराई र अनुमति नलिई विदेश भ्रमण गरेको विषयमा जवाफ दिन माग गरेका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले उपसभामुखको यो कार्य आचारणको विषय भएको बताएका छन्।
सांसद भट्टराईका अनुसार, उपसभामुख इन्दिरा राना मगरले हालसम्म १७ पटक विदेश भ्रमण गरिसकेकी छन्। तीमध्ये ७ पटक मात्रै सभामुखको अनुमति लिएको र बाँकी १० पटक भने कसैको पनि अनुमति नलिई भ्रमण गरेको देखिएको उनले बताए।
भट्टराईले प्रश्न गरे, “उपसभामुख १७ पटक विदेश भ्रमण गर्नुभएको छ। त्यसमध्ये सात पटक सभामुखको स्विकृति गरेर भ्रमण गरेको देखिन्छ। १० पटक कसैले पनि स्विकृत गरेको छैन। के आधारमा उहाँ भ्रमण गरिरहनु भएको छरु कहाँ जानुभयोरु कसको निम्तोमा जानुभयोरु”
उनले उपसभामुखको यो कार्य आचारणको विषय भएको र यसले धारा ९१ को पालनाबारे प्रश्न उठाएको बताए। उनले यस विषयमा संसदलाई जानकारी गराउनुपर्ने र यसको जवाफ उपसभामुख र सभामुख दुवैले दिनुपर्नेमा जोड दिएका छन्। हाल, उपसभामुख इन्दिरा राना मगर अमेरिका भ्रमणमा छिन्।
सांसद भट्टराईले सबै जनप्रतिनिधिलाई आचारणको नियम लागू हुने भन्दै उपसभामुखको यो भ्रमणको विवरण संसदमा पेश गर्न माग गरेका छन्।



























