मुगु,। मुगु जिल्लाका युवाहरू पछिल्लो समयमा व्यावसायिक च्याउ खेतीतर्फ आकर्षित भइरहेका छन्। कम लगानीमा राम्रो प्रतिफल प्राप्त हुन थालेपछि उनीहरूले परम्परागत खेती छोडेर प्लास्टिक टनेलमा कन्ये जातको च्याउ उत्पादन सुरु गरेका छन्।
छायाँनाथ रारा नगरपालिका(५, कार्कीबाडाका रामराज कार्कीले १० वर्षअघि २० हजार रुपैयाँको लगानीबाट सुरु गरेको च्याउ व्यवसाय अहिले फस्टाएको छ। उनी भन्छन्, ‘सिजनअनुसार चारवटा टनेलमा ४०० वटासम्म बल राख्ने गरेको छु। प्रति बलबाट ३ देखि ४ केजी च्याउ उत्पादन हुन्छ।’ बजारमा च्याउको माग उच्च रहेको र प्रतिकेजी ४०० रुपैयाँसम्म बिक्री हुने गरेको उनले बताए। विदेशमा पसिना बगाउनुभन्दा आफ्नै देशमा परिवारसँगै बसेर वार्षिक ८ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेको उनले बताए। यस आम्दानीबाट घरखर्च र बालबालिकाको पढाइ धान्न सजिलो भएको उनको भनाइ छ। उनले थप व्यवसाय विस्तारका लागि स्थानीय सरकारबाट अनुदानको अपेक्षा पनि गरेका छन्।
यस्तै, खत्याड गाउँपालिका(५ मा बसोबास गर्दै आएका बम बहादुर बुढा पनि च्याउ खेतीबाट राम्रो आम्दानी गरिरहेका छन्। परम्परागत खेतीबाट कम आम्दानी हुने र धेरै दुःख हुने भएकोले च्याउ खेती सुरु गरेको उनी बताउँछन्। उनी भन्छन्, ‘कम समय र थोरै पुँजीबाट पनि प्रशस्त आम्दानी हुन्छ।’ उनको अनुभवअनुसार, प्रतिकेजी ३०० रुपैयाँका दरले दैनिक ५ देखि ८ केजीसम्म च्याउ बिक्री हुने गरेको छ। उनले विदेशिने सोच बनाएका युवाहरूलाई स्वदेशमै कुनै न कुनै व्यवसाय गरेर बस्न प्रोत्साहन गरेका छन्।
च्याउ खेतीका लागि मुगुको हावापानी निकै उपयुक्त रहेको छ। मानिसको स्वास्थ्यका लागि लाभदायक मानिने च्याउको माग बजारमा निकै बढेको छ। यसै सन्दर्भमा, जिल्ला कृषि विकास कार्यालय मुगुका योजना अधिकृत धर्म बहादुर शाहीले च्याउ खेतीलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिएका छन्। उनले युवाहरूलाई १ लाख रुपैयाँसम्म अनुदान सहयोग, च्याउ खेतीसम्बन्धी तालिम, गोष्ठी र बीउ वितरण गर्ने काम भइरहेको बताए। उनले भविष्यमा यस्ता कार्यक्रमहरूलाई थप विस्तार गर्ने योजना रहेको पनि जानकारी दिए।
शाहीका अनुसार, तीनै तहका सरकारले बेरोजगार युवाहरूलाई आत्मनिर्भर बनाउन विभिन्न तालिम, गोष्ठी र अनुदानका कार्यक्रमहरू सञ्चालन गरेमा युवाहरू विदेश पलायन नभई स्वदेशमै बस्नेछन्। यसले देशको आर्थिक विकासमा समेत टेवा पुग्ने उनको विश्वास छ।



























