काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई समानुपातिक प्रणालीतर्फ मतदान अधिकार दिने उद्देश्यले अध्यादेशमार्फत् कानुन संशोधनको प्रक्रिया तीव्र बनाएको छ।
गृह मन्त्रालयले अध्यादेशको मस्यौदा तयार पारेर कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ। मस्यौदामा मतदाता नामावली, प्रतिनिधि सभा सदस्य निर्वाचन, निर्वाचन कसुर तथा सजाय र निर्वाचन आयोग सम्बन्धी गरी चार ऐन संशोधनको प्रस्ताव गरिएको छ।
संशोधन पारित भएपछि विदेशमा रहेका तर मतदाता नामावलीमा नाम समावेश भएका नेपाली नागरिकले समानुपातिक प्रणालीतर्फ मतदान गर्न पाउनेछन्। दूतावास तथा नियोगलाई मतदान केन्द्र तोकिने प्रस्ताव छ भने त्यहाँ कार्यरत कर्मचारी नै मतदान अधिकृत रहने व्यवस्था रहनेछ।
नेपालभित्र रहेर आफ्नो गृह निर्वाचन क्षेत्रभन्दा फरक क्षेत्रमा बस्ने नेपालीलाई पनि समानुपातिक मतदानको व्यवस्था गर्ने विषयमा छुट्टै छलफल भइरहेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताएका छन्।
कानुन मन्त्रालयले आवश्यक परिमार्जनपछि मस्यौदा मन्त्रिपरिषद्मा पठाउनेछ र स्वीकृत भएपछि राष्ट्रपतिबाट अध्यादेश जारी हुनेछ।
सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्न झन्डै एक दशकअघि आदेश दिएको थियो। जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले उक्त आदेश कार्यान्वयनतर्फ ठोस कदम चाल्दै कानुन संशोधन अघि बढाएको हो।
आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुने भएकाले अहिले दल दर्ता प्रक्रिया तीव्र भइरहेका छन्। दल दर्ताको समयसीमा आजै सकिदैछ।



























