काठमाडौं । गैरआवासीय नेपाली संघ र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको महासंघबीच मानवीय सहकार्य सुदृढ गर्ने उद्देश्यसहित समन्वय बैठक सम्पन्न भएको छ।
संघको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त बैठकमा महासंघ नेपालका प्रतिनिधि प्रमुख डेभिड फिशर तथा मानवीय कूटनीति र सम्पर्क प्रबन्धक कृष्णकुमार केसीको सहभागिता रहेको थियो। संघका तर्फबाट उपाध्यक्ष रोजिना प्रधान राई, महिला उपाध्यक्ष टीका गुरुङ, राष्ट्रिय समन्वय परिषद्का संस्थापक अध्यक्ष कृष्ण पाण्डे तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतको उपस्थिति रहेको थियो।
बैठकमा विपद् व्यवस्थापन, आप्रवासी नेपालीहरूको हित संरक्षण, समुदाय सशक्तीकरण तथा सचेतनामूलक अभियानलगायत मानवीय सहायता कार्यक्रमहरूमा आपसी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको जनाइएको छ। दुवै पक्षले आगामी दिनमा आपसी समन्वयलाई अझ प्रभावकारी बनाउँदै संयुक्त कार्यक्रम अघि बढाउने सहमति गरेका छन्।



























