काठमाडौं । विश्व वातावरण दिवस २०८३ को अवसरमा जिल्ला होटल व्यवसायी संघ काठमाडौंको आयोजनामा विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ परिसरमा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा होटल व्यवसायी, पर्यटनकर्मी तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
“विश्व वातावरण दिवस २०२६” को सन्देशलाई आत्मसात गर्दै आयोजित कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका प्रशासन उपाध्यक्ष ज्ञानु गजमेर, उपाध्यक्ष शैलेश कार्की, सचिव रमेश कुमार बराल, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल, जिल्ला होटल व्यवसायी संघ काठमाडौंका कार्यसमिति पदाधिकारीहरू, बालाजु होटल व्यवसायी संघका अध्यक्ष सूर्यबहादुर खाती, कलंकी होटल एसोसिएसनका कार्यवाहक अध्यक्ष देवीबहादुर राई, काठमाडौं होटल व्यवसायी संघका महासचिव अर्जुन सापकोटा लगायत विभिन्न इकाइका पदाधिकारी, सदस्य, सल्लाहकार तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले नेपालको गौरव र पहिचानका रूपमा रहेको स्वयम्भूनाथको संरक्षण, सरसफाइ र प्रवर्द्धन सबैको साझा दायित्व भएको बताए। उनले काठमाडौं आउने अधिकांश आन्तरिक तथा विदेशी पर्यटकले स्वयम्भूनाथबाटै नेपालको सांस्कृतिक र धार्मिक सम्पदाको अनुभव गर्ने भएकाले यस क्षेत्रको स्वच्छता र व्यवस्थापनले समग्र पर्यटन क्षेत्रको छवि निर्धारण गर्ने उल्लेख गरे।
बरालले विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई नेपालको सभ्यता, संस्कृति र इतिहासलाई विश्वसामु चिनाउने महत्वपूर्ण आधार भएको बताए। “सम्पदा संरक्षण भनेको केवल पुराना संरचना जोगाउनु मात्र होइन, नेपालको पहिचान, पर्यटन र भावी पुस्ताका लागि इतिहास सुरक्षित गर्नु पनि हो,” उनले भने।
काठमाडौं उपत्यकाको उचाइमा अवस्थित स्वयम्भूनाथ स्तूप बौद्ध धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थलका रूपमा परिचित छ। साथै हिन्दू र बौद्ध धर्मबीचको धार्मिक सहिष्णुता, सद्भाव र सहअस्तित्वको अनुपम उदाहरणका रूपमा समेत यसलाई हेरिन्छ। बुद्धका शान्ति, करुणा र मानवताका सन्देशलाई विश्वभर फैलाउन स्वयम्भूनाथले महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
कार्यक्रमका सहभागीहरूले पछिल्लो समय पर्यटकको चापसँगै प्लास्टिकजन्य फोहोर, जंकफुडका प्याकेट तथा अन्य अव्यवस्थित फोहोरले सम्पदाको सौन्दर्यमा असर पुर्याइरहेको भन्दै सरसफाइ अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले स्वच्छ र व्यवस्थित सम्पदास्थलले अन्तर्राष्ट्रिय पर्यटकमाझ सकारात्मक सन्देश प्रवाह गर्ने तथा नेपालको पर्यटन उद्योगलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे।
विश्व वातावरण दिवसको अवसरमा सम्पन्न यस अभियानले वातावरण संरक्षण, सम्पदा संवर्द्धन र पर्यटन प्रवर्द्धनलाई एकसाथ जोड्दै “स्वच्छ सम्पदा, समृद्ध पर्यटन” को सन्देश दिने विश्वाश आयोजकले लिएकाछन् ।



























